मल्लयुद्धमा बाघलाई पछार्ने कुस्तीवाज शंकरदत्त झा

अजयकुमार झा

देवी-देवता शब्दको उत्पत्ति ‘दिव्’ धातुबाट भएको छ । जसको अर्थ चमक, प्रकाश, तेज, टलक, प्रभा, टक, दीप्ति आदि हुन्छ । दिव्, दिव्य वा दिव्यता भन्नुको अर्थ दृष्टिगोचर हुनु हो । त्यो, जसभित्र वा जसद्वारा वस्तु र घटना दृष्टिगोचर हुन्छ, त्यही नै दिव् हो, दिव्य हो, देवी-देवता हो । देवी-देवता प्रत्यक्ष र परोक्ष दुवै किसिमका छन् । जो स्वयं आलोकित छ, त्यो प्रत्यक्ष देवता हो र जो चेतनाको माध्यमले अनुभूत हुन्छ, त्यो परोक्ष ।

अजय कुमार झा

प्रकाशमा वस्तु वा घटना प्रत्यक्ष देखिन्छ, जसमा चर्मचक्षु (आँखा) माध्यम बन्दछ । तर ज्ञानचक्षु (चेतना) को माध्यमबाट अप्रत्यक्ष देवी-देवताको अनुभूति हुन्छ । मानिस प्रकृतिको पनि पुजारी हो । प्रकृतिको आधार सूर्य हो । सूर्य छैन भने धरती छैन ! धरती छैन भने जीवन छैन, चेतना छैन । त्यसैले सूर्य संसारको मूल आराध्य र प्रत्यक्ष देवता हो ।

कात्तिक मासको शुक्ल पक्ष भगवान सूर्यदेवको आराधनाप्रति समर्पित छ । सूर्यदेवलाई अन्यान्य वस्तु, मेवा, मिष्टान्नसहित षष्ठी तिथिको सायंकालमा पहिलो अर्घ्य र सप्तमी तिथिको प्रातःकालमा पूर्ण अघ्र्य प्रदान गरेर नमन गर्ने परम्परा छ । यमपञ्चकमा पाँचवटा पर्व सम्मिलित छ र यो पाँच दिनसम्म मनाइन्छ । तर सूर्य आराधनाको निमित्त मनाइने छठ पर्वमा भने झण्डै यमपञ्चक जति नै समय लाग्दछ । यमपञ्चक मात्र होइन, हरेक पर्वको आफ्नै मिठास छ, तर छठ एक्लो त्यस्तो पर्व हो, जसमा पवित्रता, निष्ठा, संयम, समर्पण र व्रतका अतिरिक्त तप पनि युक्त छ ।

सूर्यको महिमा बताउन कठिन मात्र होइन, असम्भव नै छ । सूर्य प्रकृतिको आत्मा हो । सूर्य नै उज्यालो हो । सूर्य नै ज्योति र प्रकाशपुञ्ज हो । सूर्य नै अँध्यारो र उज्यालोको कारण हो । सूर्य स्वयं दिव्य छ, स्वयं आलोकित छ । सूर्य प्रत्यक्ष देवता हो । सम्पूर्ण भौतिक जीवन सूर्यमा नै निर्भर छ । यसै महत्वलाई सम्झेर हाम्रा पूर्वजहरूले सूर्यको उपासनालाई धार्मिक स्थानमा नियमन गरेर राखेका छन् । सूर्य आफैंमा एक पूर्ण उपासना हो । नित्य, स्नानसँगै सूर्यार्घ्य मानिससँग एक संस्कारकै रूपमा रही आएको छ । मानौं सूर्यार्घ्य स्नानादिको अभिन्न वा अन्तिम हिस्सा हो ।

संसारमा भगवान सूर्यदेवको मन्दिर कमै पाइन्छन्, तर ती जे छन्, सबै प्रसिद्ध छन् । इतिहासकार हरिकान्त लाल दासको शब्दमा, ‘सूर्य मन्दिर नेपालमा हत्तपत्त पाइँदैन । काठमाडौं बाहेक सूर्यको मूर्ति सप्तरीमा मात्र स्थापना भएको पाइन्छ ।’ काठमाडौं उपत्यकामा सूर्यविनायक र सूर्य ब्रहृमाणी नामक दुईवटा सूर्य मन्दिरको अस्तित्व रहेको देखिन्छन् भने यता सप्तरीको मौवाहा गाउँमा । मौवाहामा सूर्य मन्दिरको निर्माण १७० वर्षअघि भएको ऐतिहासिक प्रमाण छ र यस मन्दिरको इतिहाससँगै अन्य कतिपय इतिहास पनि जोडिएका छन् ।

मौवाहा सूर्य मन्दिरको निर्माण शंकरदत्त झाले गरेका थिए । उनी कुस्ती खेलमा निकै प्रसिद्ध भए । उनले आफ्नो सौर्य, सामर्थ्य, पराक्रम र कीर्तिका कारण पुरस्कार र पारितोषिक स्वरूप नेपाल सरकारबाट सेनामा कप्तानका साथै चासविर्तासम्म पाएका थिए भने त्यसबखत मन्दिरलाई पनि सरकारबाट विशेष सहयोग मिलेको कुरा मन्दिरमा टाँगिएको नेपाल सरकार पुरातत्त्व विभागको बोर्डले गर्दा सहजै गर्न सकिन्छ । सप्तरी जिल्लाको नैऋत्य कोणको सीमावर्ती गाउँ मौवाहा विभिन्न कारणले प्रसिद्ध छ । अहिले यो गाउँ बलान बिहुल गाउँपालिका-३ अन्तर्गत पर्दछ ।

पूर्व-पश्चिम राजमार्गमा बलान नदीको पूर्वी किनारमा अवस्थित कुशहा बजारबाट बेल्ही जाने सडकमा ११ किमी दक्षिण चनही चोक पुगेर त्यहाँबाट पथराहा टोल हुँदै केही दक्षिण गएपछि मौवाहा गाउँ आउँछ । अघि मौवाहा गाउँ विकास समिति हुँदा त्यसको वडा नं. १ मा पर्ने मौवाहा गाउँमा मैथिल ब्राहृमण जातिको बाहुल्य छ ।

बस्तीको बीच भागमा निर्माण गरिएको सूर्य मन्दिर भने पञ्च देवता तथा भगवान लक्ष्मीनारायणको मन्दिर पनि हो । ‘शिखर शैलीमा बनाइएको उक्त मन्दिरको गर्भगृहमा मूलदेवताको रूपमा लक्ष्मीनारायणको मूर्ति स्थापित गरिएको छ । त्यसको दुवैतिर बेग्लाबेग्लै कोठाहरूमा गणेश, सूर्य, महादेव र देवीका प्रतिमा स्थापित छन्’, आफ्नो एक शोध ग्रन्थमा इतिहासकार हरिकान्त लाल दासले उल्लेख गर्नुभएको छ, ‘यस अर्थमा त्यसलाई पञ्चदेवताको मन्दिर भन्न सकिन्छ ।’

स्वर्गीय दासका अनुसार ती सबै मूर्ति शालिग्रामी प्रस्तरका हुन्, जो सप्तरीका अन्य पुराना मूर्तिहरू झैं कालो रङ्गका छन् । बनारसबाट मगाइएका ती मूर्तिहरू त्यति पुरानो भए पनि भव्य देखिन्छन् । मन्दिरका निर्माणकर्ता परिवारले मन्दिरको सञ्चालन एवं सम्भारको स्रोत स्वरूप पाँच बिघा पाँच कट्ठा जग्गा पनि दान गरेका छन् ।

मौवाहाको लक्ष्मीनारायण मन्दिर वि.सं. १९०८ मा निर्माण सम्पन्न गरिएको बताइएको छ । मन्दिरमा झुण्डिएको घण्टमा वि.सं. १९१२ अंकित भएकोबाट पनि यसको पुष्टि भएको छ । उक्त मन्दिर पहलमान शंकरदत्त झाले बनाएका थिए । शंकरदत्त झाको कुस्ती शैलीबाट प्रभावित भई तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले उनलाई सेनाको कप्तान नियुक्त गरेका थिए । शंकरदत्त झाको पहलमानीको एक बडो रोचक सत्य घटना प्रचलित छ, जसमा उनी बाघसँग लडेका थिए र बाघलाई परास्त गरेका थिए । नेपाल सरकारले उनलाई मौवाहा गाउँमा २२०० बिघाको चासविर्ता प्रदान गरेको थियो ।

शंकरदत्त झाका पूर्वज भारतको विहार प्रान्त अन्तर्गत सहर्षा जिल्लाको बाघना गडौलका वासी थिए । शंकरदत्त झा पण्डित रघुपति झाका दुई छोरा दुखिया झा र मुखिया झामध्ये जेठा दुखिया झाका छोरा थिए । शंकरदत्त झा सानै उमेरदेखि पहलमानीमा चाख राख्न थालेका थिए । वयस्क भएपछि उनको कुस्ती खेल निकै प्रसिद्ध भइसकेको थियो । उनले समकालीन सबै पहलमानहरूलाई पराजित गरिसकेका थिए । तर जीविकोपार्जनका लागि उनलाई देशान्तर जानुपर्‍यो र उनी विहार प्रान्तको रोसडा जिल्ला अन्तर्गतको नरहन स्टेटको दरबारमा जागिरे भए ।

उतिबेलाको जमानामा कुस्ती नै एकमात्र प्रतियोगितात्मक खेल थियो, जो देशदेशान्तरसम्मका पहलमानहरूबीच खेलिन्थ्यो । हरेक गाउँ र स्टेटहरूमा पहलमानहरू हुन्थे । उत्कृष्ट पहलमानहरूको ख्याति र दबदबा रहन्थ्यो । पहलमानीको क्रेज आजको फूटबल, क्रिकेट जत्तिकै थियो । राजदरबारहरूले अत्यन्तै महत्वका साथ कुस्ती प्रतियोगिताको आयोजना गर्ने गर्थे । प्रायः हरेक मेलामा नामी पहलमानहरूलाई आमन्त्रित गरी कुस्ती खेलमा समावेश गराइन्थ्यो । कुस्ती विनाको मेला निरस मानिन्थ्यो ।

सोनपुरको मेला आज पनि नामी छ । महीना दिनसम्म चल्ने उक्त मेलामा राजारजौटाहरू पनि पुग्थे र खासगरी कुस्ती प्रतियोगिताको आनन्द लिन्थे । शंकरदत्त झा नरहन स्टेटमा रहँदाताकाको कुरा हो । नरहन स्टेटका नरेश सोनपुर मेला घुम्न गएका थिए । उनका साथ पहलमान शंकरदत्त झा पनि थिए । संयोगवश नेपालका प्राइममिनिष्टर तथा श्री ३ महाराज जंगबहादुर राणा पनि सोनपुर मेला पुगेका थिए । कुस्ती खेलमा उनले निकै चाख लिने गरेको इतिहासकारहरू बताउँछन् । जंगबहादुर आफैं पनि धरहराबाट कुद्न सक्ने आँटिला व्यक्तित्व थिए ।

सोनपुरको मेलामा आयोजित कुस्ती खेल एवं प्रतियोगितामा शंकरदत्त झाको प्रस्तुतिबाट जंगबहादुर राणा निकै प्रभावित भए । प्राइममिनिष्टर जंगबहादुर राणाले नरहन स्टेटका राजासँग शंकरदत्तलाई मागे । राजाले पनि स्वीकार गरे । त्यसपछि शंकरदत्त झाको अखाडा काठमाडौं नेपाल बन्न पुग्यो ।

इतिहासकार दासका अनुसार त्यो युग जंगबहादुरको थियो, जो आफैं कुस्ती कलामा धेरै चाख राख्थे । उनी नेपाल मात्र होइन, भारतका ठूल्ठूला पहलमानहरूलाई झिकाएर कुस्ती कलाको प्रदर्शन गराई आफू ठूलो चाख लिएर हेर्दथे । शंकरदत्त झाको आगमनपछि कुस्ती प्रतियोगिताको आयोजना गरियो । त्यहाँ उनले आफ्नो कुस्ती कलाबाट सबैलाई चकित पारिदिए । इतिहासकार दासको शब्दमा- ‘जंगबहादुरले उनलाई अब तिमी के देखाउँछौ ? केही अरु पनि छ ? भनी सोद्धा म बाघलाई हराउन सक्छु भनी बताए । ठीक अर्को दिन फेरि विशेष कार्यक्रम राखी बाघसँग शंकरदत्त झाको कुस्ती आयोजना गरियो । बाघ र मान्छे बीचको घमासान युद्ध सबैले देखे । अन्ततः उनको विजय भयो । कुस्तीवाज शंकरदत्त झाले बाघको थुतुनो पक्रेर च्यातिदिए ।’

प्राइममिनिष्टर जंगबहादुर राणा शंकरदत्त झाप्रति निकै प्रभावित थिए । उनले झालाई सेनाको कप्तानी पनि दिए । राजा सुरेन्द्रबाट चासविर्ताको लालमोहर दिन लगाए । उनी शंकरदत्तसँग कति अभिन्न थिए भने शंकरको पुत्रको नामकरण पनि उनले नै गरेका थिए ।

यस स्तम्भका लेखकको २०५० साल पुस २५ गते नवनेपाल साप्ताहिकमा एक लेख प्रकाशित भएको थियो- ‘बाघसित लड्ने पहलवान शंकरदत्त झा’ । उक्त लेखमा पनि मैले यस कुराको उल्लेख गरेको थिएँ कि प्राइममिनिष्टर राणाले जुन व्यक्तिले बाघलाई मार्न सक्छ उसको छोराको नाम पनि त्यस्तै हुनुपर्दछ भनेर भयङ्कर झा नामकरण गरेका थिए । भयङ्कर झा आफ्ना पिता शंकरदत्त झाका एक मात्र पुत्र थिए । भयङ्कर झाका ६ जना पुत्रहरू भए- मगनु झा, लक्ष्मी झा, बुचन झा, युगल झा, भुवन झा, मदन झा । युगल झा सन् १९३४ मा पटना विश्वविद्यालयबाट प्रथम श्रेणीमा स्नातक उत्तीर्ण सप्तरीका प्रथम व्यक्ति थिए ।

बाघसित लड्ने अर्थात् बाघलाई मल्लयुद्धमा पछार्ने कुरा धेरै साहसिलो एवं चमत्कारी मानिन्छ । असाधारण शारीरिक शक्तिका धनी व्यक्तिले मात्र बाघ पछार्न सक्दछ । हातमा रिङ्ग लिएर बाघलाई उठबस गर्न वा उफ्रिन लगाउनु सर्कसहरूमा मात्र देखिन्थे । हिजोआज सर्कसहरू पनि सकिंदै गए । फिल्ममा बाघसँग नायकको जम्काभेट भएको, बाघसित भिडन्त परेको यदाकदा देखाइन्छ । तर त्यो भनेको सक्कली घटना हुने होइन । बाघको मासु त मानिसले खाँदैन तर बाघलाई नरभक्षी पशु भने अवश्य भनिन्छ । यसैबाट बाघ र मानिसमा को बलियो भन्ने कुरा थाहा हुन्छ । तर यो धरतीमा समय समयमा त्यस्ता पनि वीरको जन्म भएको छ, जसले बाघलाई निम्तो दिएर अर्थात् चेतावनी दिएर पछार्न सक्दछन् । जसमध्ये एक थिए असाधारण शारीरिक शक्तिका धनी शंकरदत्त झा ।

कुस्तीवाज शंकरदत्त झाको अवसान भएको धेरै भइसकेको छ । तर उनको प्रसिद्धि कहिल्यै पनि समाप्त नहुने गरी स्थापित भएको छ । खासगरी उनले निर्माण गरेको मौवाहाको लक्ष्मीनारायण मन्दिर धरतीको गर्भमा विलिन नभएसम्म शंकरदत्त झाको नाम अमिट रहनेछ ।

सप्तरीको इतिहासमा अनेकौं यस्ता कुस्तीवाज वीरहरू जन्मेका छन्, जो जसले लोकदेवसम्मको स्थान पाए । सलहेश, दिना भद्री, कृष्णा राम यस्ता ऐतिहासिक योद्धाहरू थिए, जो कुस्तीवाज थिए । उनीहरूले आफ्नो शक्ति, सौर्य र वीरताको बलमा दुश्मनहरूलाई धपाए र आफ्नो राज्यका निवासीलाई संरक्षण प्रदान गरे ।

शंकरदत्त झा पनि त्यस्तै वीर योद्धा थिए, जो कुस्तीवाज हुँदै सेनाका कप्तान भए भने बाघसित लड्नेदेखि लिएर मन्दिर निर्माणसम्मका असाधारण काम गरे ।

(लेखक निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष हुन् ।) -साभारः अनलाईनखवर डटकमबाट

Author:

क्याटोगरी छान्‍नुहोस