गाई–भैंसीसँगै सुत्छिन् हजुरआमा

महोत्तरी । माटोको झुपडीभित्र एउटा साँघुरो कोठा छ। दिउँसो मुस्किलले छिर्छ घाम। जहाँ एउटा गाई र एउटा पाडी बाँधिएका छन्। त्यहीँं नै सुतेको अवस्थामा भेटिइन् ८० वर्षीया रामकुमारी महतो। उनले भुइँमा परालमाथि परालकै गुन्द्री ओछ्याएकी थिइन्। एउटा पात्लो तन्ना ओढेर गुटुमुटु परेकी थिइन्।

तपाईं यसरी किन बस्नुभएको हो ?

उनले भनिन्, ‘यहाँ गाईवस्तुको उपस्थितिले अलिक न्यानो हुन्छ। घरको भएभरको एउटा अर्को कोठामा बुहारी र दुई नातिनी सुत्छन्। अनि म बूढी कहाँ जानु ?’ गर्मी मौसममा उनी आँगनमा भुइँमै सुतेर समय कटाउँछिन्। तर, जाडोमा शीतलहरबाट जोगिन गोठ एक मात्र सहारा बनेको उनले सुनाइन्।

महोत्तरीको मटिहानी नगरपालिका–५ गोबरौराको पीडादायक दृश्य हो यो। रामकुमारीका श्रीमान् कञ्चाको निधन भएको धेरै वर्ष भयोे। श्रीमान् जीवित हुँदा जेठानहरूसँग बस्नुपथ्र्यो। श्रीमान्–श्रीमतीले अर्काको खेतमा मजदुरी गरे। जेनतेन पैसो बचाएर गाउँको बाहिरी भागमा पाँच धुर घडेरी जोडे। घर बनाए। खरको छानो हाले। तर, त्यसको केही महिनामै कञ्चा बिरामी परे। उपचार अभावमा उनको ज्यान गयो।

रामकुमारीले अहिले उपचार पाएकी छैनन्। ‘करिब पाँच वर्ष भयो यसरी खोकी लागेको’, मधुरो आवाजमा उनले अन्नपूर्ण पोस्ट्सित आफ्नो व्यथा पोखिन्, ‘छाती निरन्तर दुखिरहन्छ। कहिलेकाहीँ त सास फेर्न पनि गाह्रो हुन्छ। चिसोको बेला व्यथा अझै बढ्छ। भगवान्ले न मृत्यु दिन्छ न रोगको उपचार।’

रामकुमारीले दुई छोरा र दुई छोरीलाई जन्म दिएकी थिइन्। एक छोराको सानैमा निधन भयो। एक छोरी १० वर्षजतिको हुँदा बितिन्। कान्छी छोरीको बिहे भइसकेको छ। अर्का छोरा भोगी बोल्न नसक्ने र शारीरिक रूपमा अशक्त थिए। उनको विवाह रामकुमारीले शारीरिक अपांगता भएकी रामविराजी देवीसँग १५ वर्षअघि गरिदिइन्। दुःखले चलेको रामकुमारीको परिवारमा अर्को बज्रपात पाँच वर्षअघि पर्‍यो। जब छोरा भोगीको पनि निधन भयो। तीन छोरी र रोगी सासू पाल्ने जिम्मा रामविराजीमाथि आइपुगेको छ।

‘दुःख यति धेरै छ कि सुनाएर साध्य छैन,’ रामविराजीले गहभरि आँसु पार्दै भनिन््, ‘म कमाउन सक्षम छैन। तीन बालबच्चाको भार छ। रोगी सासूलाई पनि खुवाउनुपर्छ। अर्काको घरमा थोरबहुत काम गरेर जेनतेन पेट पालेकी छु।’ कहिलेकाहीँ माइतीले सहयोग पठाउने उनले सुनाइन्। उनले एक छोरीलाई माइतमै राखेकी छन्।

‘श्रीमान् हुँदासम्म दाउरा जोहो गर्नुहुन्थ्यो। उहाँ बितेदेखि घाँसदाउरा ल्याउन पनि निकै समस्या छ’, उनले भनिन्, ‘एउटा ग्यास चुल्हो वर्षांैदेखि भोट माग्न आउने नेताहरूसँग माग्दै आएकी छु तर, कसैले दिँदैन।’

हुनेखानेलाई नै प्रदेश सरकारको सहयोग
चरम गरिबीमा पिल्सिएकी रामकुमारीजस्ता नागरिकलाई न स्थानीय नत प्रदेश सरकारले सहयोग गरेका छन्। मधेस प्रदेशमा मुख्यमन्त्री राहत कोष छ। यो कोषबाट असहाय, विपन्न र अशक्तलाई सहायता दिनुपर्ने हो। तर, मुख्यमन्त्री लालबाबु राउत नजिककाले मात्रै सहायता पाउने गरेको विवरणहरूले देखाउँछन्।

आर्थिक सहायता उपलब्ध गराउनेसम्बन्धी निर्देशिका २०७६ विपरीत मन्त्रीदेखि, सांसदहरू र पहुँचवालाले लाखौं सहयोग पाएका छन्। मुख्यमन्त्री कार्यालयबाट उपलब्ध आर्थिक सहायता प्रदान विवरणमा २०७६/७७ र ०७७/७८ को तथ्यांकमा आर्थिक सहायताको नाममा कोषको चरम दुरुपयोग भएको पाइएको छ। सबैभन्दा बढी सहयोग पूर्वराज्यमन्त्री डिम्पल झाले पाएकी छन्। क्यान्सर पीडितलाई उपचार खर्चका लागि दुई पटकमा १७ लाख रुपैयाँ सहयोग गरिएको छ।

त्यसैगरी प्रदेश सांसद तथा सम्पन्न रहेका नेताहरूलाई पनि १ लाखदेखि ५ लाखसम्म आर्थिक सहायता उपलब्ध गराइएको छ। सिरहा क्षेत्र नं. ३ (क) बाट निर्वाचित सांसद रामकुमार यादवलाई उपचारार्थ ५ लाख सहयोग गरिएको छ। त्यसैगरी सांसद शिवचन्द्र चौधरीलाई साढे ४ लाख, अशोककुमार यादवलाई २ लाख, भीमा यादवलाई डेढ लाख, करिमा बेगमलाई १ लाख, जगतारेन देवी सुडीलाई ९२ हजार २५० रुपैयाँ उपलब्ध गराइएको तथ्यांकमा उल्लेख छ।

मधेस सबैभन्दा गरिब प्रदेश
५४ लाख जनसंख्या रहेको मधेस प्रदेशमा गरिबीको अवस्था देशकै बढी छ। यहाँको नीति तथा योजना आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार गरिबीको दर उच्च रहेको र मानव विकास सूचकांक खस्किएको छ।

यस प्रदेशमा बहुआयामिक गरिबी दर झन्डै ४८ प्रतिशत छ। गास, बास, कपासको समस्या र बिरामी हुँदा उपचार गराउन नसक्ने अवस्थालाई बहुआयामिक गरिबीको सूचीमा राखिएको छ। नीति तथा योजना आयोगको पञ्चवर्षीय योजनाको आधारपत्रमा बहुआयामिक गरिबी दर ४७.९ प्रतिशत छ। नेपालको बहुआयामिक गरिबी दर २८.६ प्रतिशत छ।

बहुआयामिक गरिबीमा प्रदेश २ को स्थान दोस्रो छ। आर्थिक गरिबी दर प्रदेशमा २७.७ प्रतिशत छ। नेपालको समग्र आर्थिक गरिबी २५.२ प्रतिशत छ। आयोगका अनुसार समग्र नेपालमा ०.४९० मानव विकास सूचकांकको दर रहे पनि प्रदेश २ को ०.४२१ प्रतिशत छ। आजको अन्नपूर्ण पोष्टमा मनिका झाले लेखेकी समाचार छ ।

Author:



क्याटोगरी छान्‍नुहोस