मिटरब्याजको आतंकः छ गुना बढी असुलीपछि ऋणीलाई छ महिना कैद

राजविराज । सरकारले मिटरब्याजीमाथि निगरानी बढाएसँगै सप्तरीका दलित समुदाय पनि खुल्न थालेका छन् । ऋणको छ गुनाभन्दा बढी रकम तिर्दासमेत कपाली तमसुक कागज फिर्ता नदिएर थप असुली गर्न थालेबाट त्रसित बनेका कञ्चनरूप नगरपालिका–५ रामपुरकी ४३ वर्षीया सुनिता देवी सदा (मुसहर), प्रिपा पूर्वकी २५ वर्षीया सम्झना कुमारी सरदार र उपेन्द्र सरदारकी ४० वर्षीया पत्नी सुनिता देवी सरदार स्थानीय सरकार गुहार्न सदरमुकाम राजविराज आइपुगेकी छन् ।

उनीहरूमध्ये अदालतको फैसलाअनुसार सुनिता देवी सदाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ भने अर्का पीडित सुनिता देवी सरदारका पति उपेन्द्र सरदार वातरको नाममा अदालतले गत चैत १८ गते ७ दिने म्याद सूचना जारी गरेकोे छ ।

सुनिताले आफ्ना छोरा अक्षय कुमार सदालाई वैदेशिक रोजगारीमा पठाउन २०७३ असोज १ गते सोही ठाउँकी साहु ३९ वर्षीया सरितादेवी ठाकुरसँग ६० हजार रुपियाँ ऋण लिएकी थिइन् । ऋण लिएको ६ महिनापछि छोराले पैसा पठाउने बित्तिकै सुनिताले ५० हजार रुपियाँ फिर्ता गरिदिएकी थिइन । त्यसको एक महिनापछि पुनः सुनिताले ‘मेरो माइक्रो फाइन्स’ नामक सहकारी संस्थाबाट किस्ता उठाएर ८० हजार रुपियाँ साहु ठाकुरलाई तिरिन । फेरि त्यसको दुई महिनापछि छोराले कतारबाट पठाएको ५० हजार र एक महिनापछि पुनः ५० हजार गरी कुल २ लाख ३० हजार रुपियाँ साहु सरितादेवीलाई बुझाएपछि कपाली तमसुक कागज फिर्ता मागेकी थिइन । तर, सरितादेवीले अझै १ लाख ५० हजार रुपियाँ तिर्न बाँकी रहेको भन्दै सो रकम दिएपछि मात्रै तमसुक कागज फिर्ता गर्ने बताएको सुनिताको भनाइ छ ।

दुखेसो पोख्दै सुनिताले भनिन्– ‘तिर्नुपर्छ भने तिर्छु भनेकै थिएँ, केही समय पनि मागेँ तर जेल पठाइदिन्छु भन्दै घर पसेरै धाकधम्की दिन थाल्नुभयो । हामी त ऋणी थियौं, बोल्ने कुरै भएन । उहाँहरूले घरमा भएको दुई वटा चौकी (काठको खाट) र दुई वटा केबार (ढोका) निकालेर लग्नुभयो ।’

त्यसपछि आफूले इलाका प्रहरी कार्यालय कञ्चनपुर पुगेर सो घटनाबारे प्रहरीलाई जानकारी गराएको र प्रहरीले सरितादेवीसँग बुझेर सो रकम तिर्नुपर्छ भनेपछि घर फर्किएर छोरालाई फोनमा सबै कुरा सुनाएको सुनिताले बताइन । त्यसको ५ दिनपछि छोराले १ लाख ५० हजार रुपियाँ पठाइदिएका र आफ्नो मेरो सानो छोरा चन्दरसँगै सो रकम लिएर प्रहरीकहाँ पुगेको जानकारी दिँदै उनले भनिन्– ‘प्रहरीको हाकिमले साहुकारलाई तमसुक कागज लिएर पैसा लिन आउन भन्नुभयो, तर साहुकारले बिरामी छु भन्दै आउन मान्नुभएन ।’

उनले सो रकम प्रहरीलाई जिम्मा लगाएर घर फर्किएको र त्यसको दोस्रो दिन प्रहरी चौकीमै गाउँका भद्रभलादमीको पञ्चायती बसेर साहुलाई सो रकम बुझाएपछि मात्रै खाट र ढोका फिर्ता पाएको बताइन । त्यतिबेला आफूले तमसुक कागज पनि मागेको तर सरितादेवीले अहिले भेटिरहेको छैन, एक–दुई दिनमा दिइहाल्छु भनेपछि आफूहरू ऋण चुक्ता भइसकेकोले ढुक्क भएर दैनिकी गुजारा चलाउन ज्याला मजदुरीमा लागेको उनले बताइन ।

अहिले आएर साहुकार ठाकुरले प्रहरी लिएर घरमै आउन थालेपछि आफूहरू त्रसित हुन पुगेको दुखेसो गर्दै सरिताले भनिन्–‘गाउँलेसँग बुझ्दा साहुकार ठाकुरले जिल्ला अदालतमा लेनदेनको मुद्दा हालेको छ अरे । त्यसमा ४ लाख रुपियाँ बिगो दाबी गरिएको छ । ऊ बेला हामीले तमसुक कागज नलिएर गल्ती गरेकै हौं । हामीजस्ता विपन्नले फेरि कहाँबाट त्यत्रो पैसा तिर्न सक्छौं, हामी त अन्यायमा पर्यौं ।’

हुन त त्यो बेला पनि साहुकारले जेल पु¥याउँछु भन्दै धम्की दिएको कुरा अझैं सम्झनामा बताउँदै उनले भनिन्– ‘आफ्नो जग्गामा घरसम्म नभएकासँग के–को रिसिइबी ? कम्तीमा घरमा बस्ने वातावरण त रहन दिनु । अहिले डरले भागी–भागी रात काट्नुपरेको छ ।’

सरितादेवीले सुनितामाथि सप्तरी जिल्ला अदालतमा लेनदेन बिगोसम्बन्धी मुद्दा दायर गर्नुभएको छ । २०७७ चैत्र २६ गते दायर भएको सो मुद्दामा गत चैत्र २० गते अदालतले प्रतिवादी सुनिताको नाममा ४ वर्ष ९ महिना २२ दिनको ८७ हजार ५ सय ८६ रुपियाँ ब्याज र ३ लाख रुपियाँ साँवा बिगो तिर्न आदेश जारी गरेको थियो । सो रकम तिर्न अदालतबाट ७ दिने म्याद सूचना पनि जारी भएको थियो । तर, सो सूचनाबारे जानकारी पनि नभएको र ऋण तिर्न बाँकीसमेत नरहेकोले चासो नदिएको बताउँदै सुनिताले नेपाल समाचारपत्रसँग भनिन्– ‘हामी अनपढ न हौं । झन अदालती कुरा हामी कसरी बुझ्नु सर ? अब त समय पनि छैन, त्यो मुद्दा पनि जोड्न पाइनँ । अब कहाँबाट तिर्नु त्यत्रो पैसा ?अनायासै जेल बस्नुपर्ने भयो, हामीमाथि अन्याय भयो, दलित गरिबलाई कसले हेर्छ ।’साहु सरितादेवीले बिगो रकमवापत ६ महिना कैदमा राख्न सिदाखर्चसमेत दाखिला गरिसकेकी छन् छ भने अदालतकै फैसलाअनुसार प्रतिवादी सुनिताको नाममा पक्राउ पुर्जीसमेत जारी भइसकेको छ ।

३० हजार ऋण, हप्तामा ४ हजार असुली

साहु सरितादेबीबाट सोही वडाअन्तर्गत पर्ने प्रिपा पूर्वकी २५ वर्षीया सम्झना कुमारी सरदार र उपेन्द्र सरदारकी ४० वर्षीया पत्नी सुनिता देवी सरदार पनि पीडित भएकी छन् । सुनितादेवीसँगै स्थानीय सरकारसँग हारगुहार गर्न सदरमुकाम आएकी सम्झनाले पनि २०७३ माघ ९ गते ‘मेरो माइक्रो फाइन्स’नामक सहकारी संस्थाबाट लिएको किस्ता चुक्ता गर्न सरितादेवीसँग ३० हजार रुपियाँ लिएकी थिइन । त्यसको केही समयपछि फेरि सोही संस्थाबाट ६० हजार रुपियाँ किस्ता उठाएर सम्झनाले साँवा र ब्याजसहित ५१ हजार रुपियाँ तिरेर ऋण चुक्ता गरिसकेकी थिइन । तर, सरितादेवीले उनको पनि कपाली तमसुक फिर्ता गरेकी छैन । कपाली तमसुकमा कति रकम लेखिएको छ भन्ने कुरा आफूलाई पहिला जानकारी नभएको र अदालतबाट ७ दिने म्याद सूचना जारी भएपछि मात्रै जानकारी पाएको बताउँदै उनले भनिन– ‘म्याद सूचना आएपछि मैले मुद्दा जोडें, मैले साहुकारलाई साँवा र ब्याजसहित मैले ५१ हजार र प्रहरी चौकी धरमपुरमार्फत् ५ हजार रुपियाँ साक्षीहरूको रोहबरमै बुझाएको छु भनी साक्षीहरूले पनि वयान दिए ।’

तर आफूसँग कपाली तमसुक नभएकोले फैसला साहु सरितादेवीकै पक्षमा गएको उनले बताइन । ‘१ लाख ४० हजारको तमसुक गरेको मुद्दा जोडेको बेलामा पत्तो पाएँ, अब झन्डै २ लाख रुपियाँ तिर्नुपर्छ अरे’, उनले भनिन्– ‘आफू जस्तालाई पत्याइदिने कोही छैन, अब कसरी त्यो रकम तिर्ने भन्ने सोचेर राति निद्रा लाग्दैन ।’ जिल्ला अदालतबाट गत वैशाख १४ गते भएको फैसलाअनुसार सम्झनासँग सरितादेवीले १ लाख ४० हजारको कपाली तमसुक गरेकी छिन् । जसमा ४ वर्ष ७ महिना ११ दिनसम्मको ब्याजवापत् ६४ हजार जोडेर कुल २ लाख ४ हजार ६ सय रुपियाँ बिगो सम्झनाले बुझाउनुपर्ने फैसलामा उल्लेख छ ।

‘बालबच्चा कसरी पाल्ने?’

उपेन्द्रकी पत्नी सुनितादेवी सरदारलाई पनि पति जेल जाने विषयले पिरोलेको छ । उनले पनि घर बनाउन २०७३ माघ महिनातिर सरितादेवीसँग ६० हजार रुपियाँ ऋण लिएकी थिइन । सो ऋणको ब्याजवापत सुनितादेवीले ०७६ वैशाख ५ गते ३० हजार रुपियाँ फछ्र्यौट गरिसकेकी छिन् । त्यस यताको ब्याज र साँवा रकम पनि तिर्ने जोहोमै थिए सरदार दम्पती । तर, सप्तरी जिल्ला अदालतमा ठाकुरले लेनदेन बिगोसम्बन्धी मुद्दा नै दायर गरेको र ०७६ कात्तिक ८ गते फैसला भएर १ लाख ५१ हजार रुपियाँ बिगो ठहर गरेको थाह पाएपछि आफ्नो परिवारलाई आकाशबाट खसेको जस्तै भएको सुनिताले बताइन ।

थप ब्याज र साँवा रकम तिर्न जाँदा सरितादेवीले लिन नमानेको बताउँदै उनले भनिन्– ‘हामीले सयकडा पाँच रुपियाँको दरले ऋण लिएका थियौं तर उहाँले ६० हजारको एक हप्तामा ८ हजार रुपियाँ ब्याज दिनुपर्छ भनी लिन मान्नुभएन । आफूहरूलाई बिहान खाएपछि भरे राति के खाने भनेर सोच्नुपर्छ, यस्तो बेलामा यति ठूलो रकम कसरी तिर्न सक्नु ?’

रकम तिर्न नसक्दा गत चैत्र १८ गते अदालतबाट म्याद सूचना जारी भएको दुःख पोख्दै उनले भनिन्– ‘पैसा तिर्ने कुनै उपाय नै छैन, पतिलाई जेल नै बस्नपर्ने भएपछि बालबच्चालाई के खुवाउने र कसरी दैनिकी चलाउने चिन्ताले पिरोलेको छ ।’ लेनदेन बिगो मुद्दामा अदालतबाट २०७६ कात्तिक ८ गते भएको फैसलाअनुसार साँवा १ लाख ५१ हजार र सोको कानुनबमोजिम हुने ब्याज तथा अदालती शुल्कसमेत दिलाउन सरितादेवीले दिएको निवेदनमा फैसला गर्दै अदालतले गत चैत्र १८ गते वादी सुनितादेवीका पति उपेन्द्र सरदार वातरको नाममा ७ दिने म्याद सूचना जारी गरेको छ ।

साहु सरितादेवी ठाकुरले भने ऋणीहरूद्वारा लगाइएको आरोपमा कुनै सत्यता नरहेको दाबी गरेकी छिन् । ऋण चुक्ता गर्न ताकेता गर्दागर्दा हैरान भएपछि मात्रै कानुनी बाटो अपनाएको बताउँदै उनले भनिन्– ‘यो रिसिइबी होइन, बाध्यता हो ।’चर्को ब्याज नलिएको दाबी गरे तापनि सरितादेवीले ऋण दिएवापत के–कति ब्याज लिने गरेको भनेर खुलाउनु भएन । उनले भनिन्– ‘सबै कुरा छाड्नुस्, कानुनले जे गर्छ त्यो मान्छु ।’ आजको नेपाल समाचारपत्रमा विद्यानन्द रामले लेखेको समाचार छ ।

Author:



क्याटोगरी छान्‍नुहोस