अरुले आश्वासन बाँडे, उपेन्द्रले भिजनका साथ काम गरे

एक समय यस्तो पनि थियो । सप्तरी जिल्लाबाट डाक्टर, ईन्जिनियर, ओभरसियर पढ्ने सपना साँचेर विद्यार्थीहरु काठमाण्डौ, पोखरा, धरान, बिराटनगर तथा भारतको ठूला सहरहरु पढ्न जान्थे । ती विद्यार्थीका अभिभावकहरु पनि चाहन्थे कि मेरो छोरा डाक्टर बनोस, ईन्जिनियर, ओभरसियर बनोस् । ताकी गाउँमा फलानोको छोरा डाक्टर हो, फलानोको ईन्जिनियर हो, फलानोको छोरा ओभरसियर आदि ईत्यादि । डाक्टर इन्जिनियरका पिता कहलिन गर्व गर्दथे अभिभावकहरु ।

आफ्ना बा–आमाको ईच्छा र आफ्नो सुखद् भविष्यको सपना बुन्दै विद्यार्थीहरु निक्कै दुःख गरेर पढ्ने गर्दथे । बाआमाले खेती किसानी गरेर होस् वा घडेरी जग्गासम्म बेचेर छोराको खर्च जुटाउने गर्दथे । सोर्स पैरबीमा दूताबासहरुबाट डाक्टरी–ईन्जिनियरङ्ग पढ्ने कमैलाई नसीब हुन्थ्यो । त्यस्ता नसिबबालालाई गाउँका मान्छेहरु हेर्न जान्थे ।

विद्यानन्द राम

म त सानो थिएँ । तै पनि सानैदेखि अन्य बच्चाहरु भन्दा ममा चेतना अलि बढी थियो । कुनै कुरालाई गम्भीरतापूर्वक लिन्थे । गाउँमा दलित भएकै कारण छुवाछुत मान्ने, कथित ठूला जात भनाउँदाहरुले मन्दिर तथा डिहबार थानमा पूजाआ गर्न नदिएको कुराहरुले मलाई घोच्ने गर्दथ्यो । म पनि ईन्जिनियर बन्न चाहन्थे तर मेरो सपना पुरा हुन सकेन । मेरा बाआमाले बाहिर राखेर पढाई खर्च धान्न सक्ने अवस्था थिएन । धनी एवम् जमिन्दारका छोराहरु पढ्नका लागि देश तथा विदेशमा पढ्न गएको देख्थेँ ।

पढ्नका लागि सहर पसेका छोरोको खर्चमा राहत होस् भन्ने उद्देश्यले टाउँकामा चामल, आलु, प्याज ईत्यादिको भारी बोकेर बस स्टेनसम्म पुर्याउँथे । राजमाार्गमा आउने बस चढेर सहरमा पढ्दै गरेका छोरासम्म पुर्याउने गर्दथे । गाउँ देहातबाट सहर पस्ने पितालाई त बसबाट ओर्लेदेखि नै थरीथरीका दुव्र्यवहार एवम् अपमान सहनु सामान्य थियो ।

पहाडी बाहुल्य ठूला सहरमा मधेशी विद्यार्थीहरुलाई अध्ययन गर्नु कम चुनौती थिएन । पढाईमा राम्रो अङ्क ल्याएकै कारण पीडा खेपेका सयौं डाक्टर, ईन्जिनियर, ओभरसियरहरु साक्षी पात्र हुनुहुन्छ । गाली, दुव्र्यवहार मात्र होइन, ग्याङ्ग फाइटबाट मरणासन्न हुने गरी पिटिनु, ज्यान जोगाउन रातरात पढाई छाडेर घर फर्किनेहरु पनि कम छैनन् । मधेशबाट उच्च शिक्षा अध्ययन गर्न बाहिर गएका विद्यार्थीहरुले अपमानित भएर पनि लक्ष्य हासिल गर्नेहरु धेरै छन् ।

यस्तै मधेशी भएर परीक्षामा टपर भएकै कारण पटक पटक अपमानित हुनेहरुमध्येका एक हुनुहुन्छ डा. चन्द्रकान्त राउत अर्थात डा. सिके राउत । काठमाण्डौंमा अध्ययरत रहँदा भोग्नु भएको पीडाको विषयमा वहाँले ‘वैरागदेखि बचावसम्म’ आत्मकथामा उल्लेख गर्नु भएको छ । डा. राउत त प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । वहाँभन्दा पनि असह्य पीडा झेल्नै पात्रहरु जिल्लामै धेरै छन् ।

जतिबेला ती विद्यार्थीहरुलाई अपमानको पीडा असह्य हुन्थ्यो । तब महशुष गर्दथे कि काश मधेशमै डाक्टरी–ईन्जिनियरङ्ग पढ्ने कलेज भई दिएको भए यति अपमानित हुनु पर्ने थिएन नि ! मधेशमै विश्वविद्यालय भईदिएको भए हुन्थ्यो नि ! अनि मधेशबाट चुनाव जितेर जाने नेताहरुलाई सम्झेर धिक्कार भन्दै मन अमिलो मन शान्त पार्ने गर्दथे । हो, सप्तरी जिल्लाले सयौं नेता जन्माए । दर्जनौं नेता मन्त्री पनि बने । तर कसैले पनि यस्ता पीडाहरुलाई बुझ्ने कोशिष गरेन ।

काँग्रेस, एमाले लगायतका पार्टीहरुले सधैं मधेशी जनताकै भोंट लिएर मधेशी जनतामाथि उत्पीडन गर्ने कार्यलाई निरन्तरता दिईरहनुभयो । हाम्रा पिता पुर्खाहरुले ती पार्टीहरुको झण्डा र झोला बोकिरहनु भो । नेताज्यूहरुले हाम्रा र भावी सन्ततीका लागि सोची दिनुहुने छ भनी आशमा त्यही कांग्रेस कम्युनिष्टको झोला बोक्दा बोक्दै संसारबाट विलिन हुनुभयो । ती पार्टीहरुको झोला बोक्दै हाम्रा बाबु बाजेको काँध खिईसकेको छ तर अझैं पनि मोह टुटेको छैन । अझैं दलित एवम् विपन्न वर्गलाई हतकण्डा बनाएर वहाँहरु भोट बटुल्ने दाउमा हुनुहुन्छ । हाम्रा पिता पुर्खाहरुको जीन्दगी त्यसै बित्यो, के हामी पनि गुलामीको जञ्जीरलाई नासोको रुपमा बोकी रहने हो ?

कालो वर्णका धोती कुर्ता लगाउने मधेशी समुदायमाथिको चरम उत्पीडन विरुद्ध हाम्रा सचेत पुर्खाहरुले आवाज उठाउँदै आउनुभएको छ । दशकौंदेखि मधेशको भोंटमा मौज गर्ने पार्टी र नेताहरुले सोचिदिएको भए शायद २०६२/०६३ को जनआन्दोलन पछि पनि उपेन्द्र यादवको नेतृत्वमा आन्दोलन गर्नुपर्ने अवस्था आउने थिएन । न्याय, समानता र स्वाभिमानका लागि आवाज उठाउँदा कैयौं मधेशी जनताले चरम यातना मात्र नभई हत्यासम्म गरिएको थुप्रै घटनाहरु ताजै छन् । रघुनाथ ठाकुर, रामराजा प्रसाद सिंह, गजेन्द्रनारायण सिंह, उपेन्द्र यादव लगायतका योद्धाहरुले उठाएका विद्रोहका आवाजहरुका कारण भीषण मधेश आन्दोलनको रुप लिन पुग्यो ।

तत्कालीन मधेशी जन अधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सचेत नेताहरुले नेपालको अन्तरिम संविधान जलाउने हिम्मत जुटाउनु भो । मधेश आन्दोलनका नेतृत्वकर्ता उपेन्द्र यादवको नेतृत्वमा भएको आन्दोलनले नै मधेशी जनताको पहिचान र स्वाभिमान स्थापित भएको कुरालाई नकार्न मिल्दैन । आज लोकसेवा लगायतका निकायहरुमा मधेशी, दलित, अल्पसङख्यकको कोटा सुनिश्चिता, सङ्घीय संरचनामा राजनीतिमा सुनिश्चितता, केन्द्रिकृत शासन सत्तालाई विकेन्द्रिकृत गर्नु, बजेटको सुनिश्चितता, विकासको लहर गाउँसम्म जानुमा निश्चय मधेश आन्दोलनको सफलताको कडीको रुपमा लिन सकिन्छ ।

मलाई याद छ त्यतिबेला काठमाण्डौ पुग्ने जो कोहीलाई पनि छालाको रङ्ग हेरेर त्यहाँका आफुलाई रैथाने भनाउँदाहरुले ‘फोरम’ भन्ने गर्दथ्यो । कुनै पनि पार्टीको किन नहोस् । टुटफुटको पीडा खेप्दै मधेशी जनताको पहिचान र स्वाभिमानका लागि सड्घर्षरत अटल योद्धा उपेन्द्र यादव अझैं पनि मैदानमा हुनुहुन्छ । वहाँ थाक्नु भएको छैन, वहाँ हार्नु भएको छैन । स्पष्ट भिजनका साथ वहाँ समाजवादको यात्रामा हुनुहुन्छ । यसो भनिरहदा मैले वहाँको प्रशंसा गरेको होइन । दलित, अल्पसंख्यक, मुस्लिम, पिछडावर्गका लागि वहाँद्वारा गरिएका प्रयास र परिणामले धेरै कुरा प्रष्ट पारिसकेको छ ।

२०७४ सालको निर्वाचनमा उपेन्द्र यादव जब सप्तरीबाट चुनाव लड्नु भो । मधेश आन्दोलनका प्रणेता भनेर चिनिनु भएका वहाँको विषयमा थरीथरीका अपवाहहरु फैलाईयो । नियोजित रुपमा जातीय नाराहरु पनि लगाईयो । तर आलोचनै आलोचनाका बीच व्यापक मतान्तरले वहाँ चुनाव जित्नु भयो । मलाई पनि त्यतिबेला लागेको थियो कि अरु नेताहरु जस्तै वहाँले पनि सप्तरीवासीलाई ठग्नु हुन्छ कि ? किनभने हालसम्म सप्तरीबाट सांसद तथा मन्त्री भएकाहरुले सप्तरीबासीका लागि कुनै ठोस र दूरगामी काम गर्न सकेको छैन भन्दा पनि हुन्छ ।

शुरुमा अन्य नेताहरु जस्तै वहाँलाई हेर्ने दृष्टिकोण थियो । तर लगभग एक दशकको पत्रकारिता यात्राका क्रममा तथा कतिपय व्यक्तिगत भेंटघाटका क्रममा बुझ्दै गएँ । मधेशी, दलित, आदिवासी, महिला जनजाती एवम् अल्पसङ्ख्यकका सवालमै मैले स्पष्ट भिजन वहाँमा पाएँ । सामान्य जीवनशैली, कम बोल्ने, तर्कपूर्ण, गम्भीर चिन्तन अनि दूरगामी सोच भएको नेताको रुपमा चिन्न थालेँ ।

सप्तरीको संसदीय क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित मा. उपेन्द्र यादवले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत निर्वाचन क्षेत्रको सम्पूर्ण बजेट अर्थात चार करोड गजेन्द्रनारायण सिंह अस्पताल परिसरमा नर्सिङ्ग कलेजमा खर्च गर्ने निर्णय गर्नुभयो । उक्त कार्यक्रममा जिल्लाका सम्पूर्ण सांसदहरुले समर्थन जनाउनुभयो । आज नर्सिङ्ग कलेजको भवन निर्माण पुरा भएको देख्दा त्यतिबेलाका विद्यार्थीहरुले भोग्ने गरेको पीडा सम्झिन्छु ।

राजविाराजस्थित निर्माण भएको नर्सिङ्ग कलेजको भवन ।

सरकारी नर्सिङ्ग कलेजमा सप्तरीका छोरीहरुले जिल्लामै नर्सिङ्ग लगायतका विषयहरु पढ्न पाउने सुखद् दिन आएको छ । सप्तरीमा निजी प्राविधिक कलेजहरु खुल्नु अघि हाम्रा छोरीहरु बाहिर अर्थात कोशौं दूर सहरमा कोठा भाडामा लिएर वा होस्टेलमा बस्नुपर्ने बाध्यता थियो । कतिपय छोरीले त चाहेर पनि पढ्नबाट वञ्चित हुनु परेको दुःखद भोगाईका साक्षी पात्र धेरै छन् । राजविराजमा नर्सिङ्ग कलेजले शिक्षा क्षेत्रमा आमूल परिवर्तनको शुरुवाती चरणको खुड्किलोको रुपमा लिएको छु । चाँडै पठन–पाठन सञ्चालनका लागि सबै पक्षबाट सकारात्मक सहयोगको खाँचो छ । अब हाम्रो समाजका छोरीहरु जिल्लामै अर्थात गाउँमै रहेर घरकै रुखो खाएर पढ्न पाउने अवस्था श्रृजना भएको छ ।

मा. उपेन्द्र यादवले दोस्रो वर्षको बजेट राजविराज स्थित महेन्द्र बिन्देश्वरी बहुमुखि क्याम्पसमा इन्जिनियरिङ्ग कलेज भवन निर्माणका लागि विनियोजन गर्नुभयो । अर्थात कलेजको भवन निर्माणका लागि ६ करोड रुपैयाँ विनियोजन गर्नु भयो । यस कार्यका लागि जिल्लाका मा. चन्द्रकान्त चौधरी लगायतका सांसद तथा स्थानीय तहका तत्कालिन प्रमुखहरु समेत धन्यवादका पात्र हुनुहुन्छ । उक्त भवनको निर्माण कार्य यतिबेला अन्तिम चरणमा पुगेको छ ।

महेन्द्र बिन्देश्वरी बहुमुखि क्याम्पसस्थित निर्माणाधिन इन्जिनियरिङ्ग कलेज भवन ।

राजविराजमै इन्जिनियरिङ्ग कलेज सञ्चालनमा आएपछि शायद त्यतिबेला आफ्नै देशका कलेजकरुमा पढ्दा अपमानित भएकाहरु तथा ईन्जिनियर बन्ने सपना पुरा गर्न नसकेकाहरुले अब आफ्ना छोराछोरी राजविराजमै इन्जिनियरिङ्ग कलेजमा पढाउन पाउँदा खुशीको अनुभूती गर्नुहुनेछ । यहाँका विद्यार्थीहरुले जिल्लामै ईन्जिनियरिङ्ग पढ्न पाउनु जिल्लावासीका लागि पनि गौरवमय क्षण हुनेछ । कलेज सञ्चालन हुने समय पनि दूर छैन । यसका लागि म सप्तरीका एक सचेत युवाको नाताले वहाँलाई धन्यवाद दिन चाहन्छु । किनभने राम्रो कामलाई राम्रो र गलत कामलाई गलत भन्ने आँट ममा छ ।

यसैगरी तेस्रो वर्षको बजेट पनि वहाँले शिक्षामै खर्चिनु भयो । वहाँले शहर बजार मात्र होइन, गाउँगाउँमा गुणस्तरीय शिक्षाको ज्योती पुर्याउनुपर्छ भने उद्देश्यका साथ निर्वाचन क्षेत्रकै तीन ओटा विद्यालयमा सम्पूर्ण बजेट खन्याई दिनुभयो । त्यतिबेला वहाँमाथि आफ्नै पार्टीका नेता तथा कार्यकर्ताहरु असन्तुष्ट हुनुहुन्थ्यो । सानातीना योजनाहरु दिएर बजेट दुरुपयोग हुनु भन्दा ठोस काम गर्नुपर्छ भने उद्देश्यका साथ मिशन शिक्षा बनाउनुभयो ।

माध्यमिक विद्यालय बथनाहा गाउँपालिकामा आठ कोठाको भवन निर्माणमा १ करोड ४० लाख, पब्लिक माध्यमिक विद्यालय लौनियाँमा ६ कोठे भवन निर्माणमा १ करोड ३० लाख, राजेन्द्र देबकी माध्यमिक विद्यालय तिलाठी कोइलाडीमा ६ कोठे भवन निर्माणका लागि १ करोड ३० लाख विनियोजन गर्नुभयो । आज उक्त रकमबाट विद्यालयहरुमा भवन निर्माण कार्य अगाडि बढेको छ । गाम देहातका विद्यालयहरुलाई भौतिक पूर्वाधार सम्पन्न बनाई शिक्षामा आमूल रुपान्तरण गर्ने मा. उपेन्द्र यादवको सोच साँच्चिकै सराहनीय रहेको छ ।

यतिले पनि वहाँको मनले मानेन । नेपाल सरकारको उप प्रधान एवम् स्वास्थ्य तथा जनङ्ख्या मन्त्री हुँदा राजविराज नगरपालिकाको बिरौलमा पहिलो गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नाममा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने सङ्कल्प लिनुभयो । सरकारले तत्कालिन प्रदेश २ को बर्दिबासमा मेडिकल कलेज बनाउने निर्णय गरेको थियो । त्यतिबेलाका शिक्षामन्त्री गिरीराजमणी पोखरेलले बर्दिबास लगेरै छाड्नुभयो । हठी स्वाभाावका मा. उपेन्द्र यादवले छुट्टै प्रतिष्ठान बनाउने कसरतमा जुट्नु भो ।

जग्गा लिजमा लिएर प्रक्रियाहरु अगाडि बढाई गजेन्द्रनारायण सिंह अस्पताल परिसरमा प्रतिष्ठानको कार्यालय समेत स्थापना गराउनुभयो । प्रतिष्ठानलाई सवारी साधन समेत दिएर कार्यकारी निर्देशकमा डा. सञ्जय ठाकुरलाई प्रतिष्ठानको कार्यालयमा पठाउनुभयो । प्रतिष्ठान बनाउने विषयमा निक्कै आलोचना तथा बहसहरु चलिरह्यो । सरकारमा रहँदा उक्त विषयलाई लिएर वहाँ अपमानित पनि हुनु भो । तर वहाँले प्रतिष्ठानलाई मिशनको रुपमा लिनुभयो । बिरौलमा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास भईसकेको छ । हालै मात्र प्रतिष्ठानको डिपीआरको सम्झौता पनि सम्पन्न भएको छ ।

प्रतिष्ठान सञ्चालनमा आएपछि सप्तरी मात्र होइन, आसपासका जिल्लाहरुका लागि समेत वरदान नै सावित हुनेछ । डाक्टरीको पढाई हुनुका साथै त्यस सम्बन्धी रिसर्चहरु समेत हुनेछन् । यहाँका विद्यार्थीहरुले डाक्टरी समेत आफ्नै जिल्लामा रहेर पढ्न पाउने छन् । अन्यत्र दुःख पीडा र अपमानित भएकाहरुले आफ्ना छोराछोरीलाई आफ्नै भूमीमा डाक्टरी पढ्न पाएको देख्दा निश्चय नै अभिभावकहरुलाई सन्तुष्टी मिल्नेछ ।

यतिमात्र होइन, त्यस क्षेत्रमा हज्जारौले रोजगारी पाउने छन् । धरान, बिराटनगर, काठमाण्डौ, भारतको दरभङ्गा, पटना लगायतका सहरहरु तथा जिल्लाकै निजी अस्पतालहरुमा महँगो उपचारबाट सर्वसाधारण जनताले मुक्ति पाउने छन् । वहाँको दूरगामी सोचले गर्दा प्रतिष्ठानको कार्य अगाडि बढेको छ । यतिमात्र कहाँ हो र ? गजेन्द्रनारायण सिंह अस्पतालमा थप तीन सय शैय्याको अस्पताल बनाउन वहाँले गर्नुभएको योगदानको जति प्रशंसा गरे पनि कमै होला । छुट्टा छुट्टै वार्डका लागि भवनहरु, आवास, अत्याधुनिक उपकरणहरु साथै अत्याधुनिक सेवाहरु सञ्चालन गर्न योगदान दिएर सप्तरीवासीलाई ठूलो गुण लगाउनुभएको छ । अब रेफरल अस्पताल हैन देशकै नमूना अस्पताल बन्ने बाटोमा गजेन्द्रनारायण सिंह अस्पताल अग्रसर भएको छ । वहाँ स्वास्थ्यमन्त्री हुँदा अस्पतालकै इतिहासमा डाक्टरहरुको सङ्ख्या ३६ पुगेको थियो । सधैै उपेक्षाको शिकार रहँदैआएको गजेन्द्रनारायण सिंह अस्पतालले मुहार फेर्दै जानुलाई सच्चा सप्तरीवासीले धन्यवाद नदिई रहन सक्दैन ।

यस अतिरिक्त अस्पताललाई एम्बुलेन्स, सवारी साधन समेत उपलब्ध गराउनुभएको मलाई ज्ञात छ । तिलाठी कोइलाडी, छिन्नमस्ता र महदेवा गाउँपालिकामा समेत एम्बुलेन्स उपलब्ध गराउनुभयो । सप्तरीलाई बदल्न वहाँका सकारात्मक सोच पाइलाहरु अझैं रोकिएको छैन । मधेशलाई कृषिको उर्वर भूमि मानिन्छ तर एउटा पनि कृषि सम्बन्धी शिक्षण संस्था थिएन । वहाँकै पहलमा सप्तरीमै कृषि विद्यालय स्थापना गरिएको छ । कार्यालय सञ्चालनमा समेत ल्याई प्रक्रियाहरु अगाडि बढेको छ । अब त यहाँ कर्णधारहरुले आफ्नै जन्मथलोमा कृषिमा विद्यावारिधीसम्मको अध्ययन अनुसन्धान गर्न पाउनेछन् । अब सप्तरीका युवाहरु अध्ययनकै लागि बाहिर जानुपर्ने दिन विस्तारै अन्त्य हुँदैछ । देशका अन्य जिल्लाहरुबाट अध्ययन अनुसन्धानका लागि आउनुपर्ने गौरवमय दिन सप्तरीवासीका लागि आउँदैछ । बाहिरबाट आउनेहरुलाई सप्तरीमा उचित माहोल दिएर टिकाउने जिम्मा हामी सबैको हो ।

मा. उपेन्द्र यादवका सपना र सोचहरु थुप्रै छन् । वहाँ कम बोल्नु हुन्छ तर परिणाममुखि काम गर्न रुचाउनुहुन्छ । वहाँको पहलमा भएका दर्जनौ कार्यहरु छन्, यहाँ लेख्न साध्य पनि छैन । फेसबुके बकम्फुसे कुराहरुले सामाजिक सञ्जाल तातिरहँदा र त्यसमा सचेत जमातले पनि वास्तविकता नै नबुझी हो मा हो मिलाई रहेको देख्दा कताकता राम्रा काम गर्न चाहनेहरुलाई निरुत्साहित पारिरहेको हुन्छ । सप्तरीमा जतिसुकै राम्रो काम गरे पनि सही र गलत छुट्याउने आँट गरेनौं भने हामी आफ्नो प्रगतिको बाधक आफै बनिरहने छौं ।

हुन त आज म पत्रकारिता पेशामा छु । तर त्यतिबेला सप्तरीमै ईन्जिनियररिङ्ग कलेज भएको भए शायद मेरा बाआमाले मलाई दुःख सहेर पनि ईन्जिनियरिङ्ग पढाउनु हुन्थ्यो । तर त्यो सपना भने पुरा हुन सकेन । म जस्ता सचेत युवाले अब साँच्चिकै गम्भीरतापूर्वक सोच विचार गर्नै पर्दछ । झूठा आश्वासन र भाषणमा हामी विश्वास गर्दैनौं । कुनै पनि प्रलोभनमा पर्दैनौं ।

हालसम्म सप्तरीबाट दर्जनौ मन्त्रीहरु भए तर यसरी मिशन रुपमा दूरगामी सोचका साथ सप्तरीलाई बदल्ने आँट कसैले गरेको छैन भनिरहँदा मलाई रतिभर संकोच छैन । मन्त्रीज्यूहरुको नाम म भन्न उपयुक्त ठान्दिन । अन्य क्षेत्रको कुरा छाडौं । शिक्षा क्षेत्रमा मात्रै पनि कसैले वहाँ जतिको काम गर्नुभएको छैन । छ भने जिल्लाका सचेत एवम् बौद्धिक जमातका बीच समिक्षा गरियोस् । सडक सञ्जाल लगायत वहाँले गर्नुभएका थुप्रै कामहरु छन् । त्यस विषयमा आज चर्चा गर्दिन ।

असल काम गरेकाहरुलाई सच्चा मनले प्रोत्साहन गर्यो सप्तरीको मुहार फेर्न अब धेरै वर्ष कुर्नु पर्दैन । बिरोधका लागि विरोध नहोस् । पार्टी पार्टीकै नाममा विरोध नहोस् । मा.उपेन्द्र यादव जस्ता मधेशका सच्चा भिजिनरी व्यक्तित्वलाई सप्तरीवासीको साथ र सहकार्य आवश्यक छ । वहाँ जतिको भिजन र त्यो कदका राष्ट्रिय नेतालाई हामी विरोधका लागि विरोध गरिरह्यौं भने आफु मात्र होइन, भावी सन्ततीका लागि त्यो भन्दा दुःखद् केही हुनेछैन ।

हामी सप्तरीवासी पार्टीको सङकिर्ण सोचबाट माथि उठेर सोचौं । निष्पक्ष र निर्मम रुपमा समिक्षा गरौं । जोसुकैले गर्ने सकारात्मक कार्यहरुमा हामी सप्तरीवासीको सहयोग र समर्थन आवश्यक छ । क्षमतावान युवा विद्यार्थीहरु डाक्टर, ईन्जिनियर, ओभरसियर, नर्सिङ्ग, कृषि सम्बन्धी अध्ययन अनुसन्धान र उपचारका लागि महँगो शुल्क तिरेर अन्यत्र भौतारिनु पर्ने अवस्थाको अन्त्य हामी सबै मिलेर गर्नुपर्दछ । तेरो र मेरो गर्न छाडेर सप्तरीलाई माया गर्नेहरु अब जिल्लाको समग्र विकासका लागि हातेमालो गरौं । अब हाम्रो कदम मात्र परिवर्तनका लागि हुनु जरुरी छ ।

            (लेखक राम, मधेश लाइभ डट्कमका कार्यकारी सम्पादक हुनुहुन्छ । सं) 

Author:



क्याटोगरी छान्‍नुहोस