उपमेयरको नागरिकता प्रकरणः सोधपुछ सकियो, थप छानविन हुँदै (फ्लोअप)

राजविराज, ७ भदौ । किर्ते गरी नेपाली नागरिकता लिएको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उप मेयर मीराकुमारी यादवविरुद्ध परेको उजुरीअनुसार छानविन प्रक्रिया अघि बढाइएको छ ।

उनी र उनका पति महेन्द्रकुमार यादव विरुद्ध जिल्ला प्रशासन कार्यालय सप्तरीमा केही समयअघि उजुरी दर्ता भएको हो । ‘उजुरी दर्ता भएपछि हामीले छानविनका प्रक्रिया अघि बढायौं’ प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भने ‘हालसम्म बयान–सोधपुछका कार्य सकिएको छ र अरु कुरा हामी बुझ्दैछौं ।’

सो बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि जानकारी माग गरेको प्रजिअ गौतमको भनाई छ । ‘हाम्रो छानविन जारी छ र सो बारे अख्तियारले पनि जानकारी माग गरेको छ, छानविन सकिएसँगै हामी त्यहाँ पनि जानकारी पठाउँछौं’ उनले भने ।

उजुरीमा यस्तो छ दावी

साउनको दोस्रो साता दर्ता भएको उजुरीमा गरिएको दावी अनुसार मीरा र उनका पति महेन्द्रकुमार भारतको बिहार राज्यअन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौल निवासी हुन् ।

विधानसभा निर्वाचन क्षेत्र विहान निर्वाचक नामावली भाग सं.५१ अनुसार श्रीमान् श्रीमाति दुवै भारतीय मुलका स्थायी नागरिक रहेता पनि झुठो विवरणको आधारमा नेपाली नागरिकता लिएको उजुरीमा उल्लेख गरिएको छ । ‘नेपाल देशमा मीरा, महेन्द्र र यी दुवैका छोरा इन्द्रजीतले साविकको सप्तरीको औरही गाविस वडा नम्बर–३ (हाल डाक्नेश्वरी नगरपालिका ६) बाट झुठो विवरणको आधारमा नागरिकता प्रमाण पत्र लिएको लिई मिरा सार्वजनिक पद धारण गरी न्याय जस्तो संवेदनशिल न्यायिक समितिको संयोजक पदमा बसी पदिय दायित्व दुरुपयोग गरिरहेकी छिन’, उजुरीमा उल्लेख छ ।

मीरा सार्वजनिक पद धारण गरी न्याय जस्तो संवेदनशील न्यायिक समितिको संयोजक पदमा बसी पदीय दायित्व दुरुपयोग गरिरहेकाले नागरिकता ऐन, २०६३ को दफा नम्बर १२ बमोजिम मीरा, उनका पति महेन्द्र र छोरा इन्द्रजीतको नागरिकता प्रमाण पत्र रद्ध गरी सोही ऐनको दफा २१ बमोजिम हदैसम्म सजाय गर्न उजुरीमा माग गरिएको छ ।

भारतको निर्वाचन नामावली २०२२ मा बिहारको क्रम संख्या ६३२ मा महेन्द्रको र ६३३ मा मीराको नाम छ । अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मीराले पेश गरेको शपथ–पत्र तथा भारत निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाण उजुरीमा संलग्न छ ।

उजुरीमा मीरालाई उपप्रमुख पदबाट निलम्बन गरी आवश्यक कानुनी कारबाही माग गरिएको छ । उजुरीकर्ताले नाम गोप्य दर्ता गराएको सो उजुरी गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय, सप्तरी, डाक्नेश्वरी नगरपालिका तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतलाई बोधार्थ गरिएको छ ।

उता, उपमेयर मिरा भने आफु नेपाली नागरिक नै रहेको दावी गर्दै आएकी छिन् ।

उपमेयरविरुद्ध उजुरी–भारतीय नागरिक रहेको दावी, किर्ते गरी नागरिकता लिएको आरोप

Author:



क्याटोगरी छान्‍नुहोस