छिन्नमस्ताका ७ मध्ये ३ वडामा अझैं छैन् स्वास्थ्य चौकी (फ्लोअप)

राजविराज, २६ पौष । आधारभूत स्वास्थ्य सेवा जनताको नैसर्गिक अधिकार हो । तर, जनताद्वारा निर्वाचित जनप्रतिनिधिले आफ्नै सेवा सुविधा र विलासितामा रमाउँदा जनताले नैसर्गिक अधिकार पाउनबाट पनि वञ्चित रहदै आएको पाइएको छ ।

यसको पछिल्लो उदाहरण हो सप्तरीको छिन्नमस्ता गाउँपालिका । जहाँका जनप्रतिनिधि र कर्मचारीले आफ्ना सुविधाका लागि मासिक साढे दुई लाख रुपैयाँसम्म भाडा तिरेर स्र्कोपिओ चढ्दै आएका छन् । तर, सात वटा वडा रहेको सो गाउँपालिकाको ३ वटा वडामा अझैंसम्म स्वास्थ्य चौकी नपुग्दा उपचार सेवा पाउनबाट जनता वञ्चित भइरहदा समेत कसैको ध्यान नपुगेको स्थानीयको गुनासो छ ।

‘७ महिनाअघि श्रीमान् पक्षघातबाट थला पर्नुभयो, त्यसपछि ओछ्यानबाट उठ्न सक्नुभएको छैन् । २४ सौं घण्टा हेरचार गर्नुपर्छ, यसबीच आफु समान्य विरामी पर्दा परको गाउँमा रहेको स्वास्थ्य चौकीसम्म पुग्नै सकिदैन’ वडा नम्वर ७ की ६० वर्षीया भुल्कन सदाले भनिन्, ‘आफ्नो वडामा पनि स्वास्थ्य चौकी भएको भए सहज रुपमा उपचार सेवा पाउँथे होला, कसलाई सुनाउनु गरिबको पीर ।’

आर्थिक अभावको कारणले पतिलाई उपचार गराउन नसकेर ओछ्यानमै खाना खुवाउनेदेखि शौच गराउनेसम्मको बाध्यता खेप्दै आएको उनको दुखेसो छ । ‘आफु जस्ता गरिबले पनि सहज उपचार पाओस् भन्ने चाहना कसको छ र?’ उनले भनिन्, ‘भोटको बेला मात्रै खोजी हुन्छ अन्य बेला कसैले सोधखोज पनि गर्दैनन् ।’

सो वडाका वडाध्यक्ष अच्छेलाल यादवले पनि स्वास्थ्य चौकी नहुँदा जनतालाई समस्या भइरहेको बताए । ‘वडामा स्वास्थ्य चौकी हुनुपर्छ भनेर मैले कति पटक बैठकमा आवाज उठाए पनि, तत्काललाई यहाँ उपस्वास्थ्य चौकीको लागि भवन तयार पनि छ’ उनले भने, ‘सोही भवनबाट सेवा सुचारु गर्ने कुरा थियो तर अझैं सुरु भइरहेको छैन् । अबको बैठकमा पुनः म सो कुरा राख्छु ।’

गाउँपालिकाको वडा नम्वर २ र ६ मा पनि स्वास्थ्य चौकी छैन् । वडामा स्वास्थ्य चौकी नहुँदा आधारभूत स्वास्थ्य सेवाबाट समेत वञ्चित रहँदै आएको स्थानीयहरु बताउँछन् । ‘जनताको स्वास्थ्य प्राथमिताको विषय हुनुपर्ने थियो तर अहिले जनप्रतिनिधि र कर्मचारीको सुविधा प्राथमिकता देखिन्छ’ स्थानीय जयप्रकाश यादवले भने, ‘ती वडाहरुमा स्वास्थ्य चौकी अविलम्ब बनाउनु हो तर जनप्रतिनिधिको चासो छैन् ।’

गाउँपालिका नै कमिशनतन्त्रमा डुब्दा प्राथमिकतामा पर्ने विषयवस्तु ओझेल भएको उनको आरोप छ । ‘जनप्रतिनिधिहरु कमिशनमा ख्याती पाइसकेका छन्, कमिशन विना कुनै पनि काम हुँदैन/गरदिँदैनन्’ उनले भने, ‘विश्वास नलागे काम गराएका कुनै व्यक्तिसँग सोध्नु वा विस्तृत अनुसन्धान गर्नु ।’

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनेश्वर प्रसाद चौधरीले स्वास्थ्य चौकी नरहेको वडाका सर्वसाधारणले पायक पर्ने स्वास्थ्य चौकीबाट सेवा लिँदै आएको बताए । ‘हाललाई पायक पर्ने स्वास्थ्य संस्थाबाट सर्वसाधारणहरुले सेवा लिँइहरनुभएको छ’ उनले भने, ‘बाँकी रहेका वडाहरुमा स्वास्थ्य चौकी बनाउने सवालमा त जनप्रतिनिधिसँगै कुरा गर्नु न।’

उता, गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले ती वडाहरुमा आधारभूत स्वास्थ्य सेवाका लागि स्वास्थ्य चौकी निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । ‘हामी तिव्रताका साथ अघि बढेका छौं, सम्भवत माघसम्ममा स्वास्थ्य चौकी निर्माण प्रक्रिया सुरु भइसक्छ’ उनले भने, ‘यस बाहेक पनि पालिकामा १५ बेडको अस्पताल बनाउने प्रक्रिया अघि बढेका छौं ।’

गाउँपालिकामा कमिशन विना कामै हुँदैन भन्ने प्रश्नमा अध्यक्ष चौधरीले भने, ‘ती आरोप कपोलकल्पित र कामै गर्न नदिने मानसिकता बोकेका केही व्यक्तिहरुले भनेको हुनसक्छ, जुनकी सरासर गलत कुरा हो ।’

यो पनिः

मनपरी औषधि खरिद गरी जनस्वास्थ्यसँग खेलबाड

उपचार अभावले अपाङ्गताको जीवन विताउँदै एउटै टोलका चार दलित

Author:



क्याटोगरी छान्‍नुहोस