सडक विभागको सचेतनामूलक कार्यक्रममै ठगी

राजविराज, २० माघ । सप्तरीमा एसियाली विकास बैंक (एडिबी) को सहयोगमा सडक विभागले आयोजना गरेको सचेतनामूलक कार्यक्रमका सहभागीहरु ठगिएका छन् । कञ्चनपुर–कमला (पूर्वी खण्ड) सडक परियोजना अन्तर्गत एचआईभी एड्स तथा मानव बेचविखन विरुद्ध सचेतनामूलक कार्यक्रमका सहभागीहरु ठगिएका हुन् ।

परियोजना अन्तर्गत सडक आसपास बसोबास गर्ने आदिवासी–जनजाति, दलित, मुस्लिम र महिलाहरूलाई लक्षित गरि सचेततामूलक कार्यक्रमको आयोजना गरिएको थियो । जिल्लाका ६ वटा स्थानिय तहमा आयोजना गरिएको कार्यक्रममा करिब १३ सय व्यक्तिलाई सहभागीता गराइएको थियो ।

जसअनुसार प्रति सहभागी करकट्टा गरी ८ सय ५० रुपैयाँ पाउनुपर्ने हो । तर, सहभागीहरुलाई ४ सय २५ रुपैयाँ मात्रै उपलब्ध गराइएको खुल्न आएको छ । ‘त्यहाँ सबैलाई ४ सय २५ रुपैयाँको दरले मात्रै दिनुभयो’ अग्निसाईर कृष्णासवरन गाउँपालिका–४ की जानकी चौधरीले भन्नुभयो, ‘के–कति भत्ता पाउने हो भन्ने कुरा थाहा नै थिएन, त्यसैले सबै जना सो भत्ता लिएर घरतर्फ लाग्यौं ।’

अर्का सहभागी खडक नगरपालिका–६ की शंकरदेवी चौधरीले आफुहरु ठगीमा परेको गुनासो गरिन । ‘उत्ता सुरुङ्गा नगरपालिकामा यही कार्यक्रम हुँदा ८ सय ५० रुपैयाँ भत्ता दिइएको छ तर हामीलाई त्यसको ५० प्रतिशत मात्रै भत्ता दिनुभयो’ उनले भनिन्, ‘हामी जस्ता गरिब जेमा पनि ठगिनु नयाँ कुरा होइन नि सर ?’

यता, सुरुङ्गा नगरपालिका–५ की देवकीदेवी चौधरीले सो तालिमका सहभागीहरुलाई ८ सय ५० रुपैयाँ भत्ता दिएको स्पष्ट गरिन । ‘भत्ता एक हजार रुपैयाँ थियो तर १५ प्रतिशत करकट्टा गरी बाँकी ८ सय ५० रुपैयाँ हामीले पाएका छौं’ उनले भनिन्, ‘अन्य पालिकाका सहभागीहरुलाई ५० प्रतिशत कम भत्ता दिएको कुरा मैले पनि सुने, त्यसरी गर्नु गलत हो नि ।’

उनका अनुसार सो स्थानिय तहबाट १ सय २५ जनाभन्दा बढी व्यक्ति कार्यक्रममा सहभागी थिए । अन्य खडक, शम्भुनाथ र कञ्चनरुप नगरपालिका तथा रुपनी र अग्निसाइर कृष्णसवर गाउँपालिकामा भएको कार्यक्रममा सहभागी भएका करिब १ हजार २ सय जनालाई ५० प्रतिशत मात्रै भत्ता रकम दिएको सहभागीहरु बताउँछन् ।

नाम नछाप्ने सर्तमा परियोजनाका श्रोतले भन्यो, ‘सहभागी रहेका १२ सय जनाको ५० प्रतिशत भत्ता रकम अर्थात ५ लाखबढी रुपैयाँ हिनामिना भएको छ, सुरुङ्गामा कार्यक्रम भइरहदा माथिबाट अनुगमन टोली आएकाले सहभागीलाई पूरै भत्ता दिइएको थियो ।’

उनका अनुसार सचेतनामूलक कार्यक्रमकी प्रमुख लैङ्गिक समानता तथा समावेशीकरण विज्ञ जीवन सिंहले नै आर्थिक कुराहरु रेखदेख गर्दै आएकी थिइन । ‘सहभागीलाई हाजिर गराउँदा उनीहरुले पाउनुपर्ने रकम पनि त्यसमा उल्लेख थिएन, तपाई आफैं विचार गर्नु न एउटै परियोजना अन्तर्गत भएको कार्यक्रमका सहभागीहरुले भत्ता कसरी फरक–फरक पाए त?, श्रोतले भन्यो ।

सडक विभाग, कञ्चनपुर–कमला (पूर्वी खण्ड) सडक आयोजनाका प्रमुख निरज शर्माले सोबारे आफुलाई जानकारी नरहेको बताए । ‘एकै किसिमका कार्यक्रममा त फरक–फरक भत्ताको कुरा नहुनुपर्ने हो तर सहभागी धेरै भएर त्यो गरेको हो की?’ उनले भने, ‘थप कुरा सम्बन्धित व्यक्तिसँगै बुझ्नुहोला ।’

सचेतनामूलक कार्यक्रमकी प्रमुख लैङ्गिक समानता तथा समावेशीकरण विज्ञ जीवन सिंहसँग पटक–पटक सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आइन् । आजको नेपाल समाचारपत्रमा विद्यानन्द रामले लेखेको खबर छ ।

Author:



क्याटोगरी छान्‍नुहोस