मधेसमा यसरी मनाइँदैछ जुडशितल पर्व

जनकपुरधाम । मधेसका जिल्लाहरुमा आज जुडशितल पर्व मनाइँदैछ । प्रत्येक नयाँको पहिलो दिन ‘सतुवाइन’ र दोस्रो दिन ‘जुडशीतल मनाइन्छ ।

आज मधेसमा बुबाआमा, गुरु, मान्यजन एवम् जेष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल थपथपाएर आरोग्यता, शीतलता र दीर्घजीवनको आशिर्वाद दिन्छन् । नयाँ वर्षमा जल सिँचित गर्दा बालबालिकाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम गर्ने जनविश्वास रहेको छ।

आजका दिन रुखविरुवामा पानी हाल्नुको साथै खेतबारीमा मलजल गर्ने परम्परा छ । सूर्यको तापबाट आकुलव्याकुल मानवलगायत रुखविरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य रहेको संस्कृतिविद्हरु बताउँछन् ।

यस पर्वलाई मिठो खाने पर्वको रुपमा समेत लिइन्छ । विभिन्न किसिमका तरुवा, करीबरी, सजिनाको तरकारी, टिकुलाको चटनी लगायतका परिकार पकाई ईष्टदेवतालाई चढाई भोजन गर्ने गरिन्छ । कृषिमा आधारित तथा गाउँघरमा उत्पादित अन्न, फलफूल तरकारी र दूधदहीको परिकार खाने चलन पनि छ ।

यसमा पूर्खाका लागि भनेर नलले भरेको घैटो, सतुवा, जौ, आँपको टिकुला तथा पङखा ब्राम्हणहरुलाई दान गर्ने परम्परा रहेको छ । साथै गृहिणीहरुले इष्टदेवलाई पुरैनिको पातमा सतुवा, सक्कर तथा आँपको टिकुलाबाट बनाइएको चटनी ९आचार० चढाउने चलन छ ।

आजको दिन खेत, खलिहान, आँगन, दलान, गाईबस्तु, रुखबिरुवासहित सबै जीवप्राणीलाई पानीले सिँचित गरेर शीतलता प्रदान गर्ने भएकोले जुडशितल पर्वलाई शान्ति, भातृत्व, सद्भाव र प्रकृतीको पर्वको उपमा दिने गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस