सामाजिक एवम् सांस्कृतिक क्षेत्रमा माली जातिको महत्वपूर्ण योगदान रहेको छ । यो जातिको बसोबास तराई मधेशको जिल्लाहरुमा रहेको छ । सीप र कौशलताले परिपूर्ण मानिएको यो जातिका पुरुष तथा महिलाहरुले पुष्प खेती गर्नुकासाथै पुष्प व्यवसाय गर्न रुचाउँछन् । यस अतिरक्त सांस्कृतिक एवम् परम्परागत चित्रकलालाई उनीहरु कागजको झाँप ईत्यादीमा कुचीको माध्यमबाट उतार्न सिपालु मानिन्छन् ।
उनीहरुले कोइढला (पानीमा उम्रने एक प्रकारको झार) समेत प्रयोग गरी विभिन्न आकारको कागजको झाँप तयार गर्छन् । उक्त कागजको झाँपमा विभिन्न रङ्ग भरेर हाती, हातीमा चढेको माउते, घोडा, सुगा, मैना, गरुड, फूल, घर आदिको चित्र बनाउने गर्छन् । विना कुनै प्रशिक्षण यी जातिमा परम्परागत कला कौसलता हस्तान्तरण हुँदैआएको छ । मठ, मन्दिर, डिहबार थान, मूर्तीघर, गोसाइँ घर, गहबर ईत्यादिमा झाँप चढाईन्छ । जन्माष्टमी, विजयादशमी र तिहारमा माली जातिले बनाएको झाँप तथा फूलको व्यापार अत्यधिक हुने गर्दछ । उक्त अवसरहरुमा परिवारका सदस्यहरुलाई झाँप तयार गर्न भ्याई नभ्याई हुने गर्दछ ।
यसका साथै माली जाति फूलको बगैंचा स्याहार्न औधी मन पराउँछन् । प्रकृति एवम् वातावरण संरक्षकको रुपमा समेत चिनिने उनीहरु मठ, मन्दिर तथा शक्तिस्थलहरुमा फूल पुर्याउने गर्छन् । मठ मन्दिरमा देउतालाई चढाउनकालागि माला तथा फूलको व्यापार समेत गर्ने गर्छन् । यस अतिरिक्त गाउँघरमा गोसाइँघरमा पूजाकालागि बेरागन (कुलदेवताको पूजा गर्ने दिन) फूल पुर्याउने गर्छन् । गाउँघरमा हुने विभिन्न पूजाआजा, विवाह, व्रतबन्ध, मुण्डन लगायतका विशेष अवसरहरुमा समेत माली र फूलको अनिवार्यता रहेको छ ।
शिक्षा, जागिर एवम् निर्णायक तहमा यो जातिको खासै पहुँच हुन सकेको छैन । विगत केही समययता उनीहरु आफ्ना छोराछोरीलाई पढाउनमा जोड दिएका छन् । यद्यपी रोजगारीको सुनिश्चितता हुन नसकेका कारण स्नातकसम्म अध्ययन गरी पुनः परम्परागत पेशामै लाग्न बाध्य हुने गरेका छन् । चरम महँगीको अवस्थामा काम गर्दा पनि मेहनत अनुसारको उचित दाम नपाउनु र मोलमोलाईले गर्दा पेशाले जिवन धान्न धौधौ परेको माली जातिका अगुवाहरुको गुनासो छ । कर्मशील अर्थात कर्ममै विश्वास गर्ने यी जातिको राजनीतिमा त्यति चासो राख्दैन । यी जातिका व्यक्तिहरु सामाजिक रुपमा अत्यन्त मिलनसार एवम् स्वाभिमानी मानिन्छन् ।
नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार माली जातिको ०.५० प्रतिशत भन्दा कम जनसङ्ख्या रहेको छ । ०.५० प्रतिशत भन्दा कम जनसङ्ख्या रहेको माली सहित ९५ ओटा जाति अल्सङ्ख्यकको सूचीमा रहेको छ । यी जातिको संरक्षण सम्वद्र्धन तथा जिवनस्तर उकास्न तीनै तहको सरकारले खासै चासो देखाएको छैन ।
दशैंको मूर्तिघर तथा मन्दिरकालागि सप्तरीको राजगढ गाउँपालिका वडा नम्वर ५ मलेकपुरका दुई युवा झाँप पुर्याउन जाँदै गरेको दृष्य । शब्द तथा तस्विरः श्यामसुन्दर यादव/मधेश लाइभ डट्कम