पाश्तुनी प्रश्नमा नाइक किन नाजबाफ

सन्तोष कुमार चौधरी
इस्लाम स्कोलरको रूपमा परिचित भारतीय नागरिक डा. जाकिर अब्दुल करीम नाइक अहिले एक महिने पाकिस्तानमा भ्रमणमा छन् । नाइक इस्लाम धर्मवेत्ताको रूपमा ठाउँ ठाउँमा प्रवचन दिँदै आएका छन्, तुलनात्मक धर्म जसको मुख्य विषय–वस्तु रहने गर्दछ । स्वदेश भारतमा आफूविरुद्ध लागेको फौजदारी अभियोगमा फरार भई मलेसियामा स्थायी रूपमा बस्दै आएका नाइकको पीस टीवीलाई भारत, बांग्लादेश, कनाडा, श्रीलंका र यूनाइटेड किंगडममा अभद्र भाषा कानून तहत प्रतिबन्धित गरिएको छ ।

इस्लामिक रिसर्च फाउण्डेशनका संस्थापक भए पनि उनी आफू इस्लाममा कुनै एक विचारधाराको अनुयायी भएको दाबी गर्दैनन्। तर उनी सलाफी विचारधारासँग भने सबैभन्दा अधिक सम्बद्ध रहेको मानिन्छ ।

कतिपय इस्लामी उपदेशका विपरीत, उनको व्याख्यान व्यवहारिक किसिमको हुने गर्दछ । उनी जुन विषयमा बोल्दछन्, तिनमा इस्लाम र आधुनिक विज्ञान, इस्लाम र ईसाई धर्म, र इस्लाम र धर्मनिरपेक्षता भन्ने सामेल छन् ।

एक महिने भ्रमण कार्यक्रममा पाकिस्तान आएका इस्लामी प्रवक्ता डा. जाकिर नाइक ठाउँठाउँमा प्रवचन दिनुका साथै स्रोताहरूले राखेका सबालको जबाफ समेत दिँदै आएका छन् । तर त्यस क्रममा उनका केही आचरण, टिप्पणी र जबाफ दिने शैलीका कारण तीव्र प्रतिक्रियाको सामना गर्नुपरेको छ । त्यस्ता प्रतिक्रियाले सामाजिक सञ्जाल र समाचार संस्थाहरूभित्रको तापक्रमलाई नराम्री बढाई दिएको छ। एकातिर ‘जाकिर– गो ब्याक’को नारा लागेको छ भने अर्कोतिर फाट्टफुट्ट व्यक्ति उनको समर्थनमा पनि नदेखिएका होइनन् ।

समाचार च्यानलहरूमा समाचारवाचन, टक शो, रिएलिटी शो आदि कार्यक्रममा प्रस्तुत हुने महिला सञ्चारकर्मीप्रति नाइकले गरेको तिखो टिप्पणीले सञ्चार क्षेत्रलाई ठूलै झट्का दिएको छ । उक्त टिप्पणीमा उनले महिला सञ्चारकर्मीप्रति कामुक दृष्टिकोणको अभिव्यक्ति दिएको देखिन्छन् । उनको टिप्पणीमा त्यस्तो पुरुषको पुरुषत्व जाँचिनुपर्ने हुनसक्छ, जो ती महिला प्रस्तोतालाई २० मिनेट हेर्दा पनि उत्तेजित हुँदैनन् । उनको यस्तो टिप्पणी पश्चात स्वाभाविक रूपले पाक मिडिया तरंगित भएको छ ।

पाकिस्तानमा मिडियाकै सीमित प्रारूपको रूपमा देखिएको सामाजिक सञ्जालमा कार्यरत युट्युबरहरूको राम्रो प्रभाव छ । जसमा महिला कार्मिकको पनि उल्लेखनीय उपस्थिति छ । फलस्वरूप, नाइकको उक्त टिप्पणी सर्वसाधारणमा पनि बहसको विषय बन्न पुगेको छ । नाइकको उक्त टिप्पणीलाई महिला अस्मितासँग सिद्धै जोडेर हेरिएको छ । त्यसको अनेक तरहले निन्दा गर्ने काम भइरहेको छ ।

नाइकका अभिव्यक्तिहरू प्रायः विवादास्पद रहँदै आएका छन्। भारतमा उनी मनी लाण्ड्रिङ्ग अभियोगमा मुछिएका छन् । इस्लामका केही दक्षिणपन्थी समूह उनको पछि रहेको मानिन्छ । तर बुद्धिजीविहरूबीच उनी आलोचित छन् ।

पाकिस्तानमा अहिले संघाई सहयोग संगठनको सम्मेलन सकिएको छ । भनिन्छ, सोही सम्मेलनले पैदा गर्ने गैर इस्लामिक माहौललाई काउन्टर गर्न नाइकको शृङ्खलावद्ध प्रवचन कार्यक्रमको रूपमा इस्लामिक गतिविधि अघि बढाइएको हो । उनलाई पाकिस्तान सरकारले राजकीय भ्रमणमा बोलाएका हो । त्यसैले के पनि बताइन्छ भने पूर्व प्रधानमन्त्री इमरान खानको तेहरिक इन्साफ पार्टीको जारी संघर्षबाट सर्वसाधारणको ध्यान भटकाउन उनलाई पाकिस्तान बोलाइएको हो । तर जे भए पनि नाइक आफ्नो भ्रमण उद्देश्यमा सफल हुन सक्ने स्थिति देखिएको छैन ।

नाइकले उपरोक्त प्रकारको टिप्पणी गरेर एक मनोवैज्ञानिक जिज्ञासा उत्पन्न गरेका छन् । उनको कथन, उनको व्यक्तिगत अनुभव हो वा इस्लामी मानसिकता वा मानवीय प्रवृत्ति भन्ने प्रष्ट नभए पनि उनको प्रवचन इस्लामिक सन्दर्भको भएकाले त्यस कुरालाई त्यसै पटलमा हेरिएको छ । के उनी मान्दछन् कि उनी आफैँ पनि महिला प्रस्तोताको कार्यक्रमलाई इग्नोर गर्दछन् । कि उनी आफ्नै प्रवचनको समाचार पनि हेर्न अनिच्छुक रहन्छन् । उनी आफ्नै अभिव्यक्तिले संकेत गरेको मानसिक समस्याबाट प्रभावित छन् की? नाइक आफैं पनि पीस टीवीका संस्थापक र अध्यक्ष हुन्। उनको चिन्तन र आचरण परस्पर विरोधी र विभेदकारी देखिन्छ ।

कतिपय हिडेन टिभी च्यानलमा दर्शकलाई उत्तेजित पार्ने कार्यक्रम प्रसारण हुने र त्यसलाई त्यस्तै वर्गले रुचाउने र इतर वर्गले घृणा गर्ने तथ्यलाई इन्कार गर्न सकिन्न । तर आम टिभी च्यानलहरूमा प्रसारित हुने समाचार तथा अन्य कार्यक्रमहरू नाइकले भने जस्तो दर्शकलाई कामुक रूपमा उत्तेजित पार्दैन ।

टिभी स्क्रिनमा जसलाई हामी पटक पटक र पूर्व निर्धारित परिवेशमा हेरिरहेका हुन्छौं, उसमा हाम्रो कुनै विशेष रुची हुन्छ भन्ने हुँदैन । जहाँ कार्यक्रम प्रस्तोताको जिम्मेवारी आफ्नो कार्यक्रमको प्रभाव बनाई राख्नुपर्ने हुन्छ, त्यहाँ एउटा दर्शक पनि समाचारको वा कार्यक्रमकै प्रभावमा रहेको हुन्छ । त्यहाँ अन्य प्रकारका मनोविकारको अवस्था रहँदैन । यसर्थ नाइकको उक्त टिप्पणी एक कुतर्क प्रतीत हुन्छ ।

त्यस्तै नाइकको एउटा सबाल–जबाफ पनि निकै चर्चित छ । यसमा एक पाश्तुनी युवतीले आफ्नै गाउँटोलको पिडोफाइलको पीडा सुनाउँदै सोधेकी हुन्छन् कि मेरो समाज इस्लामिक समाज हो तर पनि पिडोफाइलको व्याप्त भयावह अवस्था हुनु आश्चर्यजनक छ, त्यस्तो अवस्थाप्रति मौलानाहरूको धारणा के हो? तर नाइकले भने ती युवतीको सबाललाई नै गलत सबाल करार दिँदै त्यसको जबाफ दिन इन्कार गर्दछन्।

ती युवतीको सबाल किन सही छैन भन्दै गर्दा नाइकले भनेका छन्, “तिमी इस्लामिक समाज हो पनि भन्छ्यौ र पिडोफाइल छ पनि भन्छ्यौ, यी दुई कुरा एक साथ हुन सक्दैनन् ।“ नाइकको जबाफबाट प्रश्नकर्ता सन्तुष्ट हुन सकेनन् । तथापि उपरोक्त सबाल मात्र होइन, त्यसको जबाफ पनि बडो मार्मिक र तार्किक रहेको अस्वीकार गर्न मिल्दैन ।

पिडोफाइल एक बाल यौनजन्य मानसिक विकार हो । जुन समाजमा पिडोफाइल गम्भीर अवस्थामा छ तर त्यो समाज त्यस कुराप्रति सम्वेदनशील छैन भने त्यो समाज वास्तवमा समाज भन्न लायक छैन । नाइक आफ्नो जबाफमा त्यसै कुरालाई प्वाइन्ट गर्दै भन्दछन् कि पिडोफाइल भएको अवस्थाको समाजलाई इस्लामिक समाज भन्न सकिँदैन । अर्थात् पिडोफाइल इस्लामिक समाजको प्रकृति होइन, विकृति हो । यसको अर्को पक्ष इस्लामिक समाजलाई यस्तो विकृतिबाट मुक्त गरेर वास्तविक इस्लामिक समाज बनाउनु हो । तर माथि उल्लेखित विकृति भएको कथित इस्लामिक समाजभित्र विकृतिहरूप्रतिको अवेयरनेस चाहिन्छ ।

यस प्रसँगको अर्को हिस्सा कि त्यस्तो कुनै समाज, जो इस्लामिक समाजकै नाम रहेर पनि विकृत छ भने त्यसमा मौलानाहरूको दृष्टिकोण के हुनुपर्छ भन्ने प्रश्नको जबाफ भने नाइकेले दिन चाहेनन् । हरेक मौलाना यस्ता प्रश्नमा तर्केर जाने गरे झैं नाइक पनि तर्केर गएको देखियो । इस्लाममा विकृतिहरूलाई उजागर गर्ने छुट छैन । कमसेकम मौलानाहरूले विकृतिहरूलाई स्वीकार गर्दैनन् । त्यस विषयमा बोल्नुको अर्थ आफूहरू भित्र पनि विकृति छ भन्ने स्वीकार गरेको ठहरिने वा त्यस्तो ठहराई फतवा जारी हुने भय रहन्छ। सलमान खुर्सिद, तसलिमा नसरिन त्यस्तै घटनाका सिकार हुन् ।

मौलानाहरूले के तर्क दिएर आफ्नो विश्वासलाई तुलनात्मक रूपमा सर्वश्रेष्ठ दाबी गर्दछन् भने कि उनीहरूले विश्वास गर्ने पद्धति पूर्ण रूपमा पवित्र छ । तर पाकिस्तानी समाजलाई दृष्टिगत गर्दा त्यसको एक हिस्सा जमानासँगै परिवर्तनलाई आत्मसात् गर्दै गएको तथ्यलाई पनि अनदेखा गर्न सकिदैन ।
(यो लेख पाकिस्तानको सेरोफेरोमा लेखिएको हो । यसमा उल्लेख भएका कुराहरू त्यस बाहेककोलाई प्रतिनिधित्व गर्दैन ।)

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780