प्रिया सिंह थारु
आफ्नो बारेमा कम र अरुको बारेमा धेरै बोल्ने र लेख्ने बानी परेपछि आफ्नो बारेमा लेख्न धेरै नै गाह्रो हुँदो रहेछ ।
घर बाहिर कुनै अफिसमा काम गर्न रहरले सप्तरी जिल्लास्थित भोरुकवा एफ.एम.मा काम गर्न मौका पाउँदा धेरै नै खुशी त थिए, तर सन्तुष्टि थिएन । रेडियोमा बोल्ने चाहना पुरा भएर मात्र खुशी लाग्दैन्थ्यो मलाई । रेडियोमा बोल्नु भन्दा बेसी श्रोताको खुशीमा सन्तुष्ट हुन्थे म । रेडियोमा काम थाल्दा सुरुमा समाचारको केही पनि थाहा थिएन मलाई । नेपालीमा लेखेको समाचारलाई थारु भाषामा उल्लेख ( कन्भर्ट ) गरी पढ्ने गर्थे । पहिलो दिनको सम्झना अझैं पनि ताजै छ । २०६६ माघ १५ गते सरस्वती पुजाको दिन अन एयरमा पहिलोपल्ट मेरो आवाज गुञ्जेको थियो । मनभित्र डर लागेर पनि सपना र सम्भावनाले मलाई प्रेरित ग¥यो ।
रेडियो मेरोलागि नशा हो जसलाई शायदै त्याग्न सक्छु म । समाचार पढ्नका लागि तोते बोली बोल्ने बालकलाई कोठामा एकलै छाडी मन कुटुक्क पार्दै निस्कनु पर्ने हु्न्थ्यो । कहिलेकाही यति तनाब र हतार हु्न्थ्यो, आफ्नो पारिवारिक जीवन नै नभए जस्तो लाग्छ । तर जब सकारात्मक प्रतिक्रिया, प्रशंसा आउँछ यति आनन्द आउँछ शब्दमा वर्णन गर्न सक्दिन । तर अध्ययन बिनाको समाचार, कार्यक्रम कहिलेकाही आफैलाई निकै पछुतो लाग्छ । यस्ता अनुभव धेरै समाचार बाचन वा कार्यक्रम सञ्चालन गर्नेलाई होला । तर मेरो विचारमा फरक यति हो, कोही स्वीकार छन, कोही स्वीकार्दैनन् ।
पाँच बर्ष जति भोरुकवा एफ.एम.मै बिताए । पाँच बर्षको अनुभवमा मैले एक बर्ष त स्वमसेवक भएरै काम गरेँ । केही बर्ष मात्र पारिश्रमिक पाएँ । र केही महिनादेखि पारिश्रमिक नपाउँदा नि काम गरी रहेँ । केही प्रमुख व्यक्तिले गरेको भेदभाव, व्यवहारले गर्दा रेडियो छोड्न बाध्य भएँ । पहिला पनि दुई पल्ट एफ.एम. छोडेको थिए तर एफ.एम.का अध्यक्ष गोपाल गुप्ताले अबदेखि कुनै भेदभाव हुदैन भनेर पुनः लग्नु भो । केही महिना सबै ठीक रहने ग¥थ्यो फेरी जस्ताको तेस्तै । तेस्रोपल्ट म उहाँको कुरा पनि नमानी फर्केर गइन । उहाँको सहयोग र साथले मात्र काम गर्ने बातावारण लागेन मलाई । एफ.एम.छोडदा सहकर्मी साथीहरु, श्रोताहरुलाई सम्झदा मन रुन्थ्यो । राजविराजकै अर्को रेडियोमा काम गर्न बोलाउँदा पनि जान मन लागेन, केही महिना घरमै बसेँ ।
साथी जस्तो मिल्ने एकजना अंकलले रेडियो छ्न्निमस्ता मेरो साथीको हो, जाउ सबै एफ.एम.मा एउटै व्यवहार हुदैन नि भनेर पठाउनु भयो । रेडियो छिन्नमस्तामा कार्यक्रम उत्पादन, समाचार बाचनकै दौरानमा एक बर्षपछि समाचार प्रमुखको जिम्मेवारी पाएँ । मेरो लागि पद भन्दा काम ठुलो थियो र छ पनि । त्यसैले राम्रो कुरा सिक्दै गएँ, नराम्रो कुरा हटाउँदै गए ।
रेडियो जीवनको यात्रामा केही रमाइला र घतलाग्दा अनुभव पनि छन् । गाउँमा मेरो बुवाले मेरो आवाज सुन्नकालागि जब चार बज्थ्यो हतपत रेडियो खोल्नु हुन्थ्यो । जुन दिन मेरो आवाज नसुन्दा उहाँ धेरै दुःखी हुनुह्ुन्थ्यो । कतै छोरी बिरामी प¥यो कि सोचेर फोन गर्नु हुन्थ्यो । मेरो सन्चो विसन्चो रेडियोमा गुञ्जेको आवाजबाटै थाहा पाइहाल्नु हुन्थ्यो ।
धेरैजसो मान्छे रेडियोमा बोल्ने रहर मात्र गर्छन्, तर गम्भीर हुदैनन् । पहिले रेडियोकर्मी, आरजे हुनुमा बेग्लै आनन्द थियो । अहिले छ्याप छ््याप्ति रेडियो भएर श्रोता घट्दा मनोबल घटेको छ, तर श्रोताको माया आज पनि मेरो लागि प्रेरणादायी छ ।
रेडियो जीवनको यात्रामा रेडियो छिन्नमस्ताद्वारा सञ्चालित शिवांशु एफ.एम.मा स्टेशन म्यानेजरको पदमा बढुवा भएँ । थारु र नेपाली भाषासँगै मैथिलीमा पनि समाचार वाचन गर्ने अनुभव बटुलेकी र कार्यक्रममा आजको सन्देश, मिलजुइलक सिखु, नुुन मरचाई, मेलमिलाप, सनेश, गीत हाम्रो रोजाई तपाईको जस्ता प्रसारण गरी पहिलेको रहर अहिले पेशामा बदलिएको छ । यसरी रेडियोमा काम गरेको एक दशक बितिसक्यो । यो एक दशकमा चुनौती र अवसर दुईटैलाई महत्व दिदै रेडियो जीवनको यात्रालाई निरन्तरता दिइरहेकी छु ।
रेडियो जीवनको यात्रामा रिपोर्टिङ्गको क्रममा मधेश आन्दोलनको बेला मलेठ घटनामा गोली र जनताको कुटाईबाट धन्न बचेँ । कयौं पटक नराम्रा घटनाहरुको पनि अनुभूति गरेँ । एकपटक मुस्लिमहरुको मोहरम समूहले आक्रमण गरी मेरो स्कुटरलाई तोडफोड गर्दा म त पुरै नर्भस भइसकेकी थिएँ । मोहरम समूह सडकमा मनोरञ्जनकालागि लट्ठी, भाला, तरबार जस्ता हतियार लिई आफ्नो संस्कृति जर्गेना गर्दै थियो । साइडबाट मोटरसाइकलहरु गइरहेको थियो । म पनि त्यही बेला रेडियोबाट कोठातिर जाँदै थिएँ ।
मुस्लिमहरुको समूहले एकाएक मेरो स्कुटरमा आक्रमण गर्न थाल्यो । म चुपचाप हेरिराखँे । मलाई ठुलो तलबारले काट्ला जस्ता ग¥यो । अनि समूहकै अर्का व्यक्ति रोक्यो । तिनीहरु गईसकेपछि म इन्सपेक्टर सुजाता तुम्बाहाम्फेलाई फोन गरे । उहाँले म बाहिर छु सय नम्बरमा फोन गर्न भन्नुभयो । सय नम्बरमा फोन गर्दा उठेन । त्यसपछि नेपाल पत्रकार महासंघ शाखा सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवलाई फोन गरे । उहाँले एसपी मुकेश सिंहलाई फोन गर्न भन्नु भयो । अनि म एसपी सिंहलाई फोन गरे । उहाँले तुरुन्त एक भ्यान प्रहरीलाई पठाउनु भयो । एसपी सिंह र पत्रकार महासंघको सहयोगले मैले न्याय पाएँ ।
एक दशक पत्रकारिता गरेको यात्रामा धेरै प्रहरी प्रमुख आयो गयो, तर तीनजना प्रहरी प्रमुख मेरालागि स्मरणीय छ । जसमध्ये एसपी संजयसिंह बस्नेत यहाँबाट गई सक्दा पनि सहयोग गर्नुहुन्थ्यो । अहिले कोही कता कोही कता हुन्ुहुन्छ थाहा नभए पनि सम्झिरहेकी हुन्छु ।
रेडियोमा धेरै कार्यक्रमहरु प्रसारण गरे तर लक्षित महिलाहरुकोलागि सर्च फर कमन ग्राउण्डको सहकार्यमा जि.प्र.का, हुकोडन, सबल नेपाल र रेडियो मिलेर पीडित महिलाहरुकोलागि काम गर्न अवसर पाउँदा धेरै खुशी भएँ । महिलाको मुद्दामा काम गर्दा छिन्नमस्ता र पत्थरगडाका महिलामाथि बोक्सीको आरोपमा कुटपीटको घटनामा न्याय दिलाउन सहयोग गर्ने मौका पाउँदा त्यति बेला मलाई आफ्नो बाल्यकालको पीडा सम्झिदा चस्स मन पोल्ने गर्दथ्यो । पीडित महिलाको पक्षमा बोलिरहँदा मलाई लाग्थ्यो हिजो मेरोलागि पनि बोल्ने कोही भई दिदा कस्तो हुने थियो होला ?
१२/१३ बर्षको उमेरमा बोक्सी के हो ? किन मलाई बोक्सी भन्छ ? मनभित्र त केही छैन । र पनि यस्ता घिनौना आरोप किन ? लौका, काँक्रो भए काटेर हेरिन्थ्यो, तर म परे मान्छे । के गरी देखाउँ ? अनेकौ प्रश्न उब्जिन्थ्यो मेरो मनमा । बाल्यकालको कुरा याद आउँदा मन पिरोलेर आजको दिनमा पनि कहिलेकाही मनमा बदलाको भावना खेल्ने गर्दछ । भन्छन् केही त्यस्ता विकारी गुण हुन्छ रे । कास मलाई त्यो गुण आएको भए, आरोप लगाउने कसैलाई छोडने थिएन ।
म एउटी धनी शिक्षित परिवारकी छोरी भौतिक सुखी एवम खुशी हुँदा पनि समाजिक पीडाले ग्रसित भई आत्मिक पीडित थिए । केही कुुरा परबाट राम्रा देखिन्छन् र नजिकबाट नराम्रा अनि केही कुरा परबाट नराम्रा नजिकबाट राम्रा । राम्रो नराम्रोको परिभाषा के हो भनेर छुटयाउने अधिकार हरेक व्यक्तिलाई छ । केही भ्रमले कसैलाई सुख दिन्छ भने तिनै भ्रमले कसैलाई फेला समेत पार्छ ।
मेरो छोरा नौ बर्षकै उमेरमा काठमाण्डौको कुपनडोल स्थित नाइटिङगल स्कुलमा २०७२ सालको ठुलो भुकम्पको ठीक्क तीन दिन पहिला भर्ना भएको थियो । नौ गते भर्ना भयो र १२ गते भु्कम्प । त्यहाँ नपठाउँ जस्तो लाग्यो तर छोराले त्यही पढने जिद ग¥यो । कहिले केही गुनासो गरेन । जब दश कक्षामा पुग्यो । एक दिन आजै आफ्नो छोरा लानुस् भनेर फोन आयो । त्यतिबेला फ्यामिली जस्तो मिल्ने साथी ध्रुव देवजी काठमाण्डौ जानुभएको रहेछ । मैले उहाँलाई मेरो छोरालाई लिन जान भने । उहाँले स्कुलका फाउण्डर माननीय तेजुलाल चौधरीलाई फोन गरी बुझदा स्कुलको झ्याल ढोका, सिसी क्यामेराहरु फुटाई दिएछ रे, क्यामेराको फुटेजमा छ भन्नु भयो । म सुनेर झसङग् भए । जुन बच्चा घर आउँदा रुम बाहिर चटपटी खान पैसा दिँदा नि जादैन । त्यो बच्चा कसरी यस्तो ग¥यो । साथीहरुको ग्रुपमा परेर यस्तो गरे होला ।
म आफै काठमाण्डौं गए । स्कुल पुग्दा एक घण्टा पछि बल्ल होस्टेल वार्डेनले भेट्ने समय दियो । क्यामेराको फुटेज हेर्न माँग्दा त्यस्तो केही पनि गरेको छैन तार चुडाको छ, कुनै ठुलै घटना गर्ने योजना होला कि भनेर भन्यो । होस्टेल वार्डेन रुपन सरको यस्तो भविष्यवानी सुन्दा रिस पनि उठ्यो ।
माननीय टीएल चौधरी र वार्डेन दुबैको भनाई फरक फरक आयो । मैले माननीय जीसँग भेटन खोज्दा एक घण्टापछि भेट्छु भन्दा भन्दै चार घण्टै वित्दा नि भेट हुन सकेन । साँझ परिहाल्यो । काठमाण्डौमा रात पर्दा गाह्रो हुने डर अनि म फुपुको घर टिकाथली गएर बसेँ ।
होस्टेल निकाला गर्दा फेरी राजविराजमै नौ कक्षा देखि नै पढाउँमला सोचे । तर मेरो छोराले मान्न तयार भएन । पछाडी परिहाल्छु । यसैपाली एस.ई.ई.दिन्छु भनेर रुने कराउँने ग¥थ्यो । ममाथि रेडियो र पत्रिकाको जिम्मेवारी अर्कोतिर छोराको समस्या । मलाई आमाको मनले धिकार्यो ।
रेडियो र पत्रिका अरुको जिम्मा लगाई छोरासँगै काठमाण्डौमा बस्न थाले । काठमाण्डौ बसेको बेला माननीय चौधरीसँग भेटन खोज्दा समय दिनुभयो, तर त्यो दिनको यादले मन पिरोलेर म कहिले भेट्न गइनँ । मेरो छोराको भविष्यको कुरा थियो । स्कुलको फाउण्डर होइन नेता मात्र हो भने स्कुल खोलेर किन बसेको कुनी ? रञ्जना प्रधानलाई हेरेर अभिभावकहरुले बच्चा दिएको हुदैन नि । त्यतिबेला म एउटा सञ्चारकर्मी होइन आमा, अभिभावक बनेर भेटन खोजेकीे थिइन् । जब सबै काम छाडी काठमाण्डौ बस्न थाले त्यसपछि समय दिदा भेटेरै के गर्नु पत्रकारिता जीवनको यात्रा नै समाप्त भएको जस्तो अनुभूति हुन्थ्यो मलाई ।
राजविराज स्थित घरमा चोरी, उचाईमा पुगेको रेडियो, ग वर्गको सुविधामा परेको पत्रिका सबै स्वाहा भयो । दशक पार गरेको अवधिमा मैले नेपाल पत्रकार महासंघको सदस्यता पाउँनकालागि तीनपल्ट आवेदन फारम भरेँ । अहिले सम्म सदस्यता पाएकी छैन । तर कसै कसैले सदस्यता पाउँनु भयो भनेर बधाई दिन्छ भने कसैले गैर पत्रकारहरुलाई सदस्यता दिएको भनेर विरोध जनाउँछ । सही सत्य मलाई नि थाहा छैन । सदस्यता पाउनु नपाउनु आफ्नो ठाउँमा होला । तर मेरो कलम, विचारलाई कसैले रोक्न सक्दैन ।
सानो हुँदा साथीसाथी बीच कुराकानी गरिरहँदा केटीकै जीवन सजिलो, केटा जस्तो आमा–बुवा, श्रीमति, छोरा–छोरी पाल्ने तनाव त हुदैन भन्ने गर्थिन् । आज छोराको गुनासो सुन्दा केटाकेटी बराबरी हो भन्ने लाग्छ । छोराले गुनासो गर्छन स्कुलमा सबैको आमा टिफिन खुवाउन आउँदा रमाइलो गरी खान्थ्यो । तर म टुलुटुलु हेरी बस्थे । मेरो मामु खाली एफएम, रिपोर्टीङ्ग, मिटिङ्ग । यति गरेर एउटा मन पर्ने लुगा नि हाल्दिन सक्नुहुन्न । उता रेडियोको म्यानेजिङ डाइरेक्टरलाई तलब माग्दा अमेरिकामा समस्यामा । विश्वकै धनी देशमा बसेर अझैँसम्म सेटल हुन नसकेको अवस्था छ रे । विश्वमा फैलिएको कोभिड १९ ( कोरोना ) को महामारीको बेला झन के सेटल भए होला र । तीन बर्षमात्र वितेको रहेछ अझैं कति बर्ष लाग्दा उहाँको समस्या समाधान हुन के थाहा तबसम्म आशै मर्नेछ होला । घरमा समय नदिएर के नै गर्न सक्यो भनेर घरपरिवारको गुनासो सुन्नु परेको छ ।
पेशा र परिवारलाई ब्यालेन्स गरि जान खोज्दा सक्रिय नभएको भनेर सहकर्मी साथीहरुको जिज्ञासा छुट्टै होला । एकलै हिँडदा असुरक्षित, मान्छेसँग हिँडदा कलंकित समाजको दृष्टि आफ्नोतिर पर्ला भन्ने डर । गएको एक दशकमा रेडियो स्टेशनको विकासकोलागि र पत्रकारिताको पहिचानकोलागि भु्मिका निर्वाह गर्न पाएकोमा गौरवान्वित छु ।
अन्त्यमा रेडियोप्रतिको लगाव र निरन्तरताकालागि अहिलेसम्म सहयोग पु¥याउनु हुने शुभेच्छुक, संघ,संस्था, व्यक्ति, श्रोता, विज्ञापनदाता, सहकर्मी सबैमा हार्दिक कृतज्ञता टक्राउदै धन्यवाद ।
(लेखक थारु, नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) सप्तरीका अध्यक्ष हुन् । सं.)