कहिले पाउँछ मन्त्रिपरिषद्ले पूर्णता ?

जनकपुरधाम । शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको ८० दिन वित्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेपछि गठबन्धनभित्रैबाट आलोचना सुरु भएको छ। केपी ओली नेतृत्वको सरकारलाई विस्तापित गर्दै असार २९ गते देउवा प्रधानमन्त्रीमा नियुक्त भएपनि गठबन्धनका दलहरूबीच सहमति जुट्न नसक्दा अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको हो।

विभिन्न बहाना देखाउँदै सरकार विस्तारमा विलम्ब गर्दै आएका गठबन्धनका शीर्ष नेताहरूको असोज ६ गतेको बैठकले एक साताभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने समझदारी गरेका थिए। सरकारको नेतृत्व गरेको कांग्रेसले एक राज्यमन्त्रीसहित सात र अन्य तीन दलले पाँच/पाँच मन्त्रालय लिने समझदारी गरेका थिए। त्यसमा माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजवादीलाई एक एक राज्यमन्त्री दिने समझदारी भएको छ। तर, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले पनि बराबरी मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ।

शीर्ष नेताहरूबीचमा मन्त्रालयको संख्यामा करिबकरिब समझदारी बने पनि मन्त्रालयका विषयमा सहमति जुट्न बाँकी रहेको एक नेताले जानकारी दिए। मन्त्रालयको विषयमा गठबन्धनका शीर्ष नेताबीच सहमति जुट्न नसकेका बेला माधवकुमार नेपाल र पूर्णबहादुर खड्का बिरामी पर्दा मन्त्रिपरिषद्लाई पूर्णता दिने कुरा थप प्रभावित बनेको दाबी गरे। ‘मन्त्रालयको विषय मिल्न नसकेका बेला नेपाल र खड्का बिरामी भएको विषय थप बहाना बनेको छ,’ एक नेताले भने, ‘सबै दलभित्र नै सहमति जुटेको छैन। त्यसले गर्दा केही समय लाग्ने जस्तो देखिन्छ।’

२२ मन्त्रालयमा बढीमा २५ सदसीय मन्त्रिपरिषद मात्र बनाउन पाहिने संबैधानीक व्यवस्था छ। यसअघि माओवादीबाट दुई नेतालाई सरकारमा सहभागी गराइसकेका प्रधानमन्त्री देउवाले आफ्नै पार्टी कांग्रेसका चार नेतालाई सरकारमा सहभागी गराएका छन्। आफूनिकट नेताहरूलाई मात्र अहिलेसम्म समेटेका देउवाले पार्टीभित्रको विभिन्न पक्षलाई समेट्नुपर्ने अवस्था रहेको भन्दै थप मन्त्रालय दिन नसक्ने बताउँदै आएको निकटहरूको दाबी छ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले गठबन्धनमा रहेका दलहरूबीचमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद्ले पूर्णता नपाउनु चिन्ताको विषय भएको बताए। गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको उपलक्ष्यमा शनिबार महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा निधिले मन्त्रिपरिषद्लाई पूर्णतादिन धेरै ढिला भएको गुनासो गरेका हुन्।

मन्त्रिपरिषद्लाई तत्काल पूर्णता दिनेगरी काम गर्न पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवासहित गठबन्धनका नेताहरूलाई आग्रह गरे। ‘अब धेरै दिन ढिलो गर्न सकिँदैन। सरकारले तत्काल पूर्णता दिन जरुरी छु, उनले भने, ‘तपाइहरूले ततकाल सक्रियता देखाउनु पर्‍यो। यसले गठबन्धन र कांग्रेसलाई मात्र होइन सिंगो मुलुकका लागि पनि घाटा छ।’ सरकारले अहिलेसम्म पूर्णता पाउन निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा समेत असर पर्ने भन्दै निधिले थपे, ‘संविधान र लोकतन्त्रका लागि पनि तीन तहको निर्वाचन हुनैपर्नेछ। तर, मन्त्रिपरिषद् अहिलेसम्म पूर्णता नपाउँदा अबको चुनावमा गठबन्धनका योगदान र योग्यता के हुन्छ भनेर पूर्वानुमान गर्न थालिएका छन्। हामी त्यसलाई पनि ध्यान दिनुपर्छ।’

संविधानसभाबाट जारी संविधानको रक्षा र प्रणालीको संरक्षणका लागि पनि कांग्रेसले आगामी निर्वाचनमा जित्नैपर्ने बताउँदै निधिले पार्टीको १४औं महाधिवेशन र त्यसबाट नयाँ नेतृत्व सोहीअनुसार चुनिनुपर्ने भन्दै पार्टीका नेता तथा कार्यकर्ता पनि सहजग हुनुपर्ने बताए। १४औं महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने भन्दै निधि तयारीमा सक्रिय छन्।

त्यस्तै, कांग्रेसका अर्का नेता प्रकाशमान सिंहले पनि सरकारले अहिलेसम्म पूर्णता नपाएको भन्दै असन्तुष्टि जनाएका छन्। कांग्रेसको १४ औं महाधिवेशनअन्र्तगत शनिबार काठमाडौं महानगरपालिकाको अधिवेशनको उद्घाटन गर्दै सिंहले तत्काल सरकारलाई पूर्णता दिएर जनहितमा काम गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरे। नेता सिंहले जनतासँग विश्वासको मत लिन जाने हो भने जनताले नेतृत्व परिवर्तन गरेर आऊ भन्ने अवस्था आएको बताए। २०७४ सालमा कांग्रेस तीन तहको निर्वाचनमा नराम्ररी पराजित भएसँगै आफूले सभापति देउवा असफल भएको भन्दै राजीनामा मागेका उनले बताए।

आगामी महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने बताउँदै सिंहले उपत्यकावासीले बाहिरबाट आएका नेतालाई मात्र साथ दिएको दुखेसो गरे। ‘उपत्यकाको समस्या भनेको आफ्नो ठाउँमा जन्मेको हुर्केको नेतालाई सानो देख्ने र बाहिरबाट आएको नेतालाई ठूलो देख्ने प्रवृत्ति भएको गुनासो गर्दै उनले थपे, ‘अरूको झोला उपत्काका बासीले कहिलेसम्म बोक्ने ? गणेशमान र मंगलादेवीको छोरा भन्दैमा म सभापति बन्नबाट अयोग्य हुने हो ? अरूको छोराहरूले त अवसर पाएका छन त ?’

त्यस्तै, सहमहामन्त्री प्रकाशशरण महतले भने आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याएर पार्टीको एकल सरकार बनाउने दाबी गरे। काठमाडौंको बूढानीलकण्ठ नगरसमितिको अधिवेशन उद्घाटन गर्दै सहमहामन्त्री महतले कांग्रेस नेतृत्वमा नयाँ सरकार बनेको भए पनि विभिन्न वैचारिक धरातलमा उभिएका राजनीतिक दलहरूको गठबन्धन सरकार भएकोले प्रधानमन्त्रीले फुकीफुकी कदम चाल्नुपरेको बताए। सत्ता साझेदार दलहरूको घुर्की, धम्की, अनुनय र विनयका आधारमा चल्ने सरकारबाट कांग्रेसले लिएका नीति, कार्यक्रम र लक्ष्यहरू हासिल हुनेगरी सरकारले काम गर्न नसक्ने पनि महतले बताए।

नागरिक दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस