७ प्रदेशका १० परियोजनामा अध्ययन गर्दै लगानी बोर्ड, कहाँ कुन परियोजना ?

जनकपुरधाम । मुलुकलाई आवश्यक पर्ने ठूला परियोजनामा लगानी भित्र्याउने तथा लगानीको वातवरण तय गर्नको लागि नीतिगत पैरवी गर्ने लक्ष्यका साथ स्थपना गरिएको लगानी बोर्डले १० वटा नयाँ परियोजनामाथि अध्ययनको तयारी गरेको छ ।

स्थपना भएको १० वर्षको अवधिमा २८ परियोजनामा ८ खर्ब ४४ अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको बोर्डले लगानी विस्तार गर्न नयाँ परियोजनाको अध्ययन गर्न थालेको कार्यालयले जनाएको छ ।

अध्ययनको लागि छनोट गरिएका परियोजना ७ वटै प्रदेशबाट रहेका छन् । सबै प्रदेशमा समन्यायिक विकासको लागि सातै प्रदेशबाट परियोजना छनोट गरी अध्ययन गर्न थालिएको लगानी बोर्डको कार्यालयले जनाएको छ ।

१० वटा परियोजनामध्ये प्रदेश १, प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णालीका १/१ परियोजना रहेका छन् भने बागमती प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशबाट २ वटा परियोजना रहेका छन् ।

यी हुन् अध्ययन गर्न थालिएका ७ प्रदेशका १० परियोजनाः

बागमती प्रदेश :

बस र्‍यापिड ट्रान्जिट रिङरोड
धुलिखेल मेडिसिटी
दोलखा फिल्मी सिटी

सुदूरपश्चिम प्रदेश :

सुदूरपश्चिम पब्लिक ट्रान्सपोर्ट
खप्तड इन्ट्रिग्रेटड टुरिजम प्रोजेक्ट

प्रदेश १ : तलतलैयाँ मल्टिप्रपोज प्रोजेक्ट

प्रदेश २ : जानकी ह्यारिटेज होटल एण्ड कल्चरल भिलेज

गण्डकी प्रदेश : इन्टरनेशनल कन्भेसन सेन्टर पोखरा

लुम्बिनी प्रदेश : गौतमबुद्ध म्याटरनिटी हस्पिटल

कर्णाली प्रदेश : कर्णाली इन्ट्रिग्रेटेड हर्वल प्रोसेसिङ

यी परियोजनाको अध्ययनले लगानीकर्तालाई नयाँ प्रोजेक्ट देखाउन र यी परियोजनाको अनुमानित लागतका साथै हुन सक्ने लाभ लगायतका विषयमा जानकारी गराउन सहज हुने लगानी बोर्डका अधिकारीहरूले बताएका छन् ।

२८ परियोजनामा साढे ८ अर्ब स्वीकृत

लगानी बोर्डको कार्यालय स्थपना भएपछि २८ परियोजनामा साढे ८ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको छ । तर स्वीकृत गरिएको लगानीमध्ये न्यून मात्रामा मात्रै अहिलेसम्म लगानी प्रवाह भएको छ । २०६८ सालमा स्थपना भएको लगानी बोर्डको कार्यालयले २०७० सालमा डङ्गोटे सिमेन्ट उद्योगको लागि लगानी स्वीकृत गरेको थियो । तर लगानी गर्न नसेकेको भन्दै यसको लगानीकर्ता फिर्ता भइसकेको छ ।

योसहित ऊर्जा, उत्पादन, खनिज, पर्यटन, यातायात शहरी विकास गरी ६ क्षेत्रमा २८ उद्योगको लागि लगानी स्वीकृत गरिएको बोर्डले जनाएको छ । स्वीकृत गरिएको लगानीमध्ये अहिलेसम्म एउटा मात्रै उद्योग सञ्चालनमा आएको छ । लगानी बोर्डले लगानी स्वीकृत गरेको ह्वाङसी सिवम् सिमेन्ट अहिले सञ्चालनमा रहेको छ ।

४ वटा उद्योग निर्माणको क्रममा रहेका छन् । निर्माणको क्रममा रहेका उद्योगहरूमा अरुण ३ हाइड्रो पावर कम्पनी, अपर त्रिशुली १, हुवासीन सिमेन्ट र वेष्ट टु इनर्जी प्रोजेक्ट रहेका छन् ।

थप ५ वटा आयोजना लगानी बोर्डले स्वीकृत गरेको छ । जसमा चाइना नेपाल फ्रेन्डसिप इन्ड्रसटियल पार्क, भेइकल म्यानिफ्याक्चरिङ एण्ड एसम्वलिङ प्लान्ट, दाङ सिमेन्ट, स्मार्ट सिमेन्ट र अपर मर्स्याङ्दी हाइड्रो पावर रहेका छन् ।

हालसम्म अन्य निकायबाट लगानी स्वीकृत भइ लगानी बोर्डले सहजीकरण गरेका आयोजनाको लागि २ खर्ब ६० अर्ब रुपैयाँ र बोर्डमार्फत लगानी स्वीकृत गरेका ३ खर्ब १६ अर्बको आयोजना गरी ५ खर्ब ७६ अर्बको आयोजनाहरूमा सहजीकरण गरिएको बोर्डको कार्यालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस