सप्तरीवासीको वर्षौंदेखिको सपनालाई जस लिने नाममा विवादित नबनाऔं

हामी एक हौं । रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानबारे भ्रम फिजाउने कार्य कहीँबाट नहोस् । यहाँसम्म आउनुमा कसको के कति योगदान छ ? भन्ने कुरा जनमानसलाई थाहा छ । व्यक्तिगत एकजनाको प्रयासले यहाँसम्म आएको होइन, धेरैको प्रयास छ । अझ प्रतिष्ठान निर्माण कार्य सम्पन्न हुन र सूचारु हुन कतिवर्ष लाग्ला ? त्यसको निक्र्यौल छैन । अझ यसमा सबै पक्षको सहयोग चाहिएको छ । सबैको स्वामित्व आवश्यक छ । यस्तो अवस्थामा फलानो चिलानो भनेर विभाजन गर्ने कार्य कही कतैबाट नहोस् ।

इतिहास हामीलाई पनि थाहा छ । संघर्षको पीडाबारे थप बुझ्नुपरेमा राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, तत्कालिन मेस.सु. डा. चुमनलाल दास, प्रतिष्ठानका तत्कालिन कार्यकारी निर्देशक डा. सञ्जय ठाकुर, मा. सुमनराज प्याकुरेल, जिल्ला समन्वय समिति सप्तरीका संयोजक प्रभाकर यादव, युवा नेता दिनेश यादव, अस्पतालका मे.सु. एवम् प्रतिष्ठानका निर्देशक डा. रणजित कुमार झालगायतका पात्र पर्याप्त होला ।

यदि त्यतिले पर्याप्त भएन भने तत्कालिन स्वास्थ्य मन्त्रालयका सचिवहरु, मन्त्रालयका सल्लाहकार डा. के.के राईहरु साक्षी पात्र हुनुहुन्छ । थप चाहिएमा तत्कालिन उप प्रधान तथा स्वास्थ्य जनसंख्या मन्त्री उपेन्द्र यादवसँग परिकल्पनादेखि हालसम्मको अवस्थाबारे जानकारी लिँदा पर्याप्त हुनेछ ।

मेडिकल कलेज वर्दिवास वा राजविराजमा बनाउने विषयमा तत्कालिन शिक्षामन्त्री गिरिराजमणी पोखरेल र तत्कालिन उपप्रधान तथा स्वास्थ्य जनसंख्या मन्त्री उपेन्द्र यादव बीच विवाद तथा मन्त्री परिषद्को बहसबारे खोजी गर्नुहोला । मेडिकल कलेज शिक्षा मन्त्रालय अन्तर्गत पर्ने भएकोले मन्त्री पोखरेल बर्दिवासको अडानमा रहनुभयो । त्यसपछि तत्कालिन मन्त्री यादवले स्वास्थ्य मन्त्रालय मातहतमै राखेर रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने परिकल्पना गर्नुभयो । स्वास्थ्यमन्त्री यादवकै आग्रहमा प्र.म. ओलीले प्रतिष्ठानबारे प्रदेश २ को प्रदेश सभामा घोषणा गर्नुभएको हो ।

प्रतिष्ठानको काम कसरी अगाडि बढ्यो ? प्रतिष्ठानको श्रोत अस्पतालको रुपमा गजेन्द्रनारायण सिंह अस्पताललाई कसरी तीन सय शैय्या थप्ने काम भयो ? अस्पतालको इतिहासमै झण्डै तीन दर्जन चिकित्सक पाएको अवस्था पनि मन्त्री यादवकै अथक प्रयासबाट भएको हो । प्रतिष्ठानको कार्यालय राजविराजमा कसरी खुलेको हो ? प्रतिष्ठानलाई सवारी साधन समेत दिएर राजविराज कसरी कार्यकारी निर्देशक डा. सञ्जय ठाकुरलाई पठाईयो ? सुविधा सम्पन्न अस्पताल बनाउन अत्याधुनिक सामानहरु कसले पठाएको हो ? जग्गा अधिग्रहणको पीडाबारे खोजी होस् ।

जग्गा पास हुन नदिन तिकडम गर्नेहरु र फाइल रोक्का गर्नेहरुबारे पनि जनतालाई थाहा छ । प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन विभागीय मन्त्री यादव बीच दूरी बढ्नुको एउटा कारण प्रतिष्ठान बनाउने अडान पनि हो महोदय । अस्पतालभित्रै निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत नर्सिंग कलेज भवन बनाउने निर्णयबारे तथ्य खोजौं । प्रतिष्ठानबारे जिल्लाका बुद्धिजिविहरुको सामुहिक दवाब, पूर्वमन्त्री उमेश यादवको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण पत्र बुझाएर दवाब दिनु, एकमत भएर राजनीतिक दलहरु, संघीय सांसद तथा प्रदेश सांसदहरुले पहलकदमी लिएको योगदानलाई पनि भूल्न मिल्दैन ।

फलानो, चिलानो, ढिस्कानो जस्ता कुतर्क गर्न छाडौ । सप्तरीवासीको वर्षौंदेखिको सपनालाई जस लिने नाममा विवादित नबनाऔं । सामुहिक रुपमा प्रयास गरौं । प्रतिष्ठानको जग्गाको अडकिएको फाइल कार्यान्वयनमा आउनु सकारात्मक हो । प्रम ओली र विभागीय मन्त्री धन्यवाद्का पात्र हुनुहन्छ । पहलकदमी लिनेहरु प्रशंसाका पात्र हुनुहन्छ । प्रम ओलीबाट शिलान्यास हुनु र समयमै कार्य सम्पन्न हुने प्रतिवद्धता आउनु अत्यन्तै खुशीको कुरा हो ।

शिलान्यासमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, नागरिक समाज लगायत सबैले एक एक ईट थपेर स्वामित्व ग्रहण गरेका छन् । यो शिलान्यास कार्यक्रम आफैमा ऐतिहासिक एवम् गौरवमय बनेको छ । स्थानीय राजनीतिक दलहरु, जनप्रतिनिधिहरु, वौद्धिक समाज, नागरिक समाज लगायत सबैको सामुहिक प्रतिफलको परिणाम हो प्रतिष्ठान । त्यसैले पूर्वाग्रही भएर नसोचौं । फुटाउने काम नगरौं । सबैले आआफ्नो तर्फबाट पहलकदमी लिऔं । विभाजित गरेर प्रतिष्ठानको कामलाई अन्यौलमा नपारौ । प्रतिष्ठान हाम्रो हो, हामीले बनाउनुपर्छ । सामुहिक पहल थालौ । सकारात्मक सोचकासाथ अगाडि बढौं । म पनि यहाँहरुको साथ छु । सप्तरीको एक सचेत नागरिकको हैसियतले म पनि यहाँहरुको साथ छु ।

Author:



क्याटोगरी छान्‍नुहोस