शम्भुनाथको कनकपट्टी दरबार अझैं अलपत्र

प्रिया सिंह थारु
राजविराज, १५ साउन । मधेश प्रदेश सरकारले धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थलहरुको संरक्षण सम्वद्र्धन तथा भौतिक संरचना निर्माणको नाममा करोडौं खर्चेको छ । तर सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर २ स्थित कनकपट्टीको ऐतिहासिक दरबार संरक्षणको अभावमा अलपत्र परेको छ ।

चुरे जङ्गलमा रहेको उक्त दरबारको संरचनाको संरक्षण हुन नसक्दा ईट, बुट्टेदार पत्थरहरु चोरी समेत हुन थालेको हो । संरक्षणको अभाव ती संरचनाहरु नष्ट नासिने क्रम बढेको छ ।

साबिकको खोक्सर प्रवाहा–६ कनकपट्टीमा रहेको प्राचीन दरबारको अवशेषको विषयमा संघ, प्रदेश र स्थानीय सरकारको वेवास्ताका कारण यसको अस्तित्व नै सङ्कटमा परेको स्थानीयवासिन्दा मनोज चौधरीको गुनासो रहेको छ । उनका अनुसार दरबारको संरक्षणका लागि सरकारको तर्फबाट हालसम्म कुनै पहल नभएका कारण प्राचीन एवम् कलात्मक सामग्री तथा इ“टहरू चोरी हुने गरेको छ ।

इतिहासविद् प्रा. डा. पिताम्बरलाल यादवका अनुसार पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत शम्भुनाथ ट्राफिक चौकदेखि करिब डेढ किलोमिटर उत्तर चुरेक्षेत्रमा रहेको यो दरबार वि.सं. २०५४ सालमा खोलामा आएको बाढीले कटान गरेपछि पर्खालको अवशेष देखिएको थियो । करिब पा“च बिगहा क्षेत्रफलमा फैलिएको सतहभन्दा १० देखि २० फिटसम्म अग्लो रहेको छ ।

दरबारको अधिकांश भाग झारपातले ढाकिएको छ । यद्यपि नदीले कटान गरेको अगाडिको भाग भने अहिले पनि प्रष्ट देखिन्छ । यो क्षेत्रको दक्षिण र पश्चिमतर्फ कुलो जस्तै रहेको सानो नदीमा आएको बाढीले कटान गरेपछि यो पर्खालको अवशेष देखिएको डा. यादवले जानकारी दिएका छन् ।

जमिनबाट निस्किएको यो पर्खाल अत्यन्तै कलात्मक एवम् सुन्दर रहेको छ । विभिन्न आकारका इँटहरू प्रयोग गरी बनाइएको पर्खालमा विभिन्न प्रकारको बुट्टाहरू कुँदिएको छ । पक्की इँट तथा पत्थरको प्रयोग भएको ऐतिहासिक दरबारको गर्भगृह छेउ–छाउबाट माटो तथा पत्थरका भाँडा–वर्तन तथा गहनाहरू भेट्टिने गरेको स्थानीय वासिन्दाको भनाई छ ।

सप्तरी सदरमुकाम राजविराजदेखि करिब १६ किलोमिटर उत्तर चुरे जङ्गलमा रहेको उक्त स्थलको विषयमा वास्तविकता बुझ्न तथा उत्खनन् गर्न वि.सं.२०६१ सालमा पुरातŒव विभागबाट टोली समेत आएको लेखक एवम् संस्कृतीकर्मी श्यामसुन्दर यादव बताउँछन् । उनका अनुसार उत्खनन्का क्रममा कलात्मक झ्याल ढोका सहितको कोठा तथा बुद्धको दाह्री भएको दुर्लभ मूर्तिहरू समेत फेला परेको थियो । उक्त मूर्तिहरू समेत टोलीले लगेको यतिका वर्ष भइसक्दा पनि पुरातŒव विभागबाट कुनै पहल हुन सकेको छैन ।

दरबारको अवशेष सेनकालीन मन्दिरको पर्खाल हुन सक्ने इतिहासविद्हरुको तर्क रहेको छ । चुरे डाँडामा सेनकालीन दरबारको अवशेष अझैं अद्यावधिक छ । दरबार क्षेत्रलाई संरक्षित गरिए आन्तरिक तथा बाह्य पर्यटनमा टेवा मिल्नुका साथै इतिहास सम्बन्धी खोज तथा अध्ययन अनुसन्धानका लागि समेत महŒवपूर्ण हुन सक्ने संस्कृतीकर्मी यादवको तर्क छ ।

यस विषयमा शम्भुनाथ नगरपालिका मेयर जितेन्द्र प्रसाद गुप्ताले ऐतिहासिक दरबार संरक्षणका लागि सङ्घीय सरकार र प्रदेश सरकारले हालसम्म कुनै सहयोग नगरेको प्रतिक्रिया दिएका छन् । उनका अनुसार पुरातत्व विभागले दरबार उत्खनन् गर्दा बुद्धको मूर्ती लगायतका सामग्रीहरु काठमाण्डौ लगेको तर यसको संरक्षणका लागि हालसम्म कुनै पहल गरेको छैन । पालिकाले उक्त विषयमा कुनै ठोस निर्णय नगरे पनि आफुहरु गम्भीर रहेको बताउँदै घेराबेरा लगायतका कार्यहरु गर्ने उनको प्रतिवद्धता रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस