दुई देशबीचको सम्बन्धमा टर्निङ्ग प्वाइन्ट

रामसुकुल मण्डल

भारतको कूटनीतिमा सेनाको महत्वपूर्ण भूमिका रहँदै आएको छ । नेपालसँग सुरक्षा चासो जोडिने हुँदा सेनाको अझ बढी भूमिका हुनेगर्छ । विगतमा पनि सम्बन्ध खटपट हुँदा सेनाले सम्बन्धलाई सहज बनाउने काम गरेको छ । नेपाल र भारतका सेना प्रमुख एक–अर्का देशको मानार्थ महारथी हुने हुँदा सेनाले केही गर्दैन भन्ने चाहीँ होइन तर भारतीय सेनाध्यक्षको भ्रमणका बेला केही भए यो भ्रमण दुई देशबीचको सम्बन्धमा एउटा ‘टर्निङ प्वाइन्ट’ बन्न सक्छ ।

नेपाल र भारतबीच एकअर्को देशका सेनाप्रमुखलाई मानार्थ प्रधानसेनापतिको दर्जाबाट सम्मान गर्ने परम्परा रहँदै आएकोमा भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको छ । यसअघि प्रधानसेनापति थापाले २०७५ पुस २९ मा नयाँदिल्लीमा भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा ग्रहण गरेका थिए ।

यस्तो कार्यक्रम विगतमा सामान्य औपचारिकतामा सीमित रहने गरिए पनि केही महिनादेखि नेपाल–भारत सीमालाई लिएर कायम विवाद र नरवणे आफैंले दिएको नेपालसम्बन्धी विवादास्पद अभिव्यक्तिका कारण उनको भ्रमणलाई काठमाडौं र दिल्लीमा विशेष चासोका साथ हेरिएको छ । बितेको एक वर्षदेखि सीमा विवादका कारण दुई देशको राजनीतिक नेतृत्वबीच हार्दिक सम्बन्ध बन्न नसकिरहेको पृष्ठभूमिमा नरवणेको भ्रमणबाट नाकाबन्दी अन्त्य गर्न प्रयोग भएको सैन्य कूटनीति पुनः एकपटक प्रयोग हुने अपेक्षाले पनि यो भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ ।

नक्सा विवादका कारण केही महिनादेखि काठमाडौं र नयाँदिल्लीबीच राजनीतिक तहमा औपचारिक सम्बन्ध सुरु हुन नसकिरहेका बेला नरवणेको भ्रमणलाई अर्थपूर्ण मानिएको छ । यो भ्रमणले राजनीतिक तहको सम्बन्धलाई अगाडि बढाउन सहयोग मिल्ने अपेक्षा पनि गरिएको छ । विशेषगरी शुक्रबार हुने प्रधानमन्त्री ओलीसँगको भेटवार्तालाई दिल्ली र काठमाडौं दुवैले चासो दिएका छन् ।

दिल्ली र काठमाडौंबीच कायम संवादहीनतालाई नरवणेको भ्रमणले सैन्य कूटनीतिमार्फत तोड्ने अपेक्षा गरिएकाले पनि बढी महत्त्व राखेको विश्लेषकहरूको बुझाइ छ । यहि वर्ष वैशाखमा भारतले चीनको मानसरोवर जोड्ने पिथौरागढ–लिपुलेक सडकखण्डको सुरु गरेपछि दुई देशबीचको सम्बन्ध तिक्ततापूर्ण रहँदै आएको छ । भारतले उक्त सडक नेपाली भूमिमा निर्माण गरेको भन्दै नेपालले औपचारिक रूपमै विरोध जनाएको थियो ।

यता नेपालले ऐतिहासिक प्रमाणलाई आधार बनाएर लिम्पियाधुरासम्मको भूमि समेटेर नयाँ राजनीतिक नक्सा सार्वजनिक ग¥यो । नेपालले त्यही नक्साका आधारमा संविधानसमेत संशोधन ग¥यो । त्यसबाट थप आक्रोशित बनेको भारतले सीमा विवाद छलफलका लागि नेपालले नै वातावरण बनाउनुपर्ने बताउँदै आएको छ । जसले गर्दा राजनीतिक तहमा औपचारिक संवाद हुन सकेको छैन । यहि सेरोफेरोमा भारतीय सेनाध्यक्षको भ्रमण भएको हो ।

विश्लेषकहरुले यहि पृष्ठभूमिमा नरवणेको चारदिने भ्रमण मूलतः परम्पराको निरन्तरता भए पनि यसले दुई देशबीच राजनीतिक संवाद बढाउन सहज वातावरण निर्माणमा सघाउने अपेक्षा गरेका छन् ।
यता, भारतीय सेनापति नरवणेले पनि आफ्नो भ्रमणले दुई देशबीचको सैन्य सम्बन्ध थप सुदृढ हुने बताएका छन् । भ्रमणको पूर्वसन्ध्यामा उनले एक भिडियो सन्देश जारी गर्दै भ्रमणबाट दुई देशका सेनाबीचको मित्रता र आपसी सम्बन्ध थप सुदृढ हुने उल्लेख गरेका छन् ।

यसअघि काठमाडौंस्थित भारतीय दूतावासले पनि सेना प्रमुखको नेपाल भ्रमणले दुई देशका सेनाबीचको परम्परात सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ । दूतावासका प्रवक्ता नवीन कुमारले भनेका छन्, ‘जनरल नरवणेको प्रमुखले दुई देशका सेनाबीचको लामो र परम्परागत मित्रवत् सम्बन्धलाई थप सुदृढ बनाउनेछ ।’ भ्रमणले दुई पक्षीय रक्षा साझेदारीका विषयमा छलफल गर्न अवसर प्रदान गर्ने र आपसी हितका लागि त्यसलाई सुदृढ बनाउन नयाँ अवसरहरूको ढोका खोल्ने विश्वाससमेत उनको भनाइ छ ।

भारतीय सेनापतिको भ्रमणको विषयमा जति चासो नेपालमा छ त्यति नै भारतमा पनि रहेको पाइएको छ । भारतीय सञ्चारमाध्यमहरूले पनि नरवणेको भ्रमणले सीमा विवाद छलफलका लागि विदेशस्तरीय बैठकका लागि अनुकूल वातावरण निर्माण गर्ने चर्चा गरेका छन् । द हिन्दुस्तान टाइम्सले लामो समयदेखि रोकिएको विदेश सचिवस्तरीय बैठक अघि बढाउन नरवणेले काठमाडौंमा रहँदा प्रधानमन्त्री ओलीसँग गर्ने भेट र भेटवार्ता अपेक्षा गरेजस्तो भए भारतले विदेश सचिवस्तरीय वार्ता र सीमासम्बन्धी प्राविधिक समितिको बैठकका लागि सहमति जनाउने लेखेको छ । यस्तै अर्को भारतीय दैनिक टाइम्स अफ इन्डियाले पनि सीमासम्बन्धी प्राविधिक समितिको बैठक नरवणेको भ्रमणको नतिजामा निर्भर रहने उल्लेख गरेको छ । (मधेश दर्पण फिचर सेवा)

Author:



क्याटोगरी छान्‍नुहोस