पहाड–मधेश बिचको आत्मियताः यस कारण मेरो आत्मा रोयो

सरोज राय (सामाजिक अभियन्ता)
एक वर्षदेखि हराईरहेका बालक प्रेम विकलाई भारतबाट उद्धार गरेर दैलेख जिल्लाको डुल्लु नगरपालिका नाउले डाँडामा बसोवास गर्ने आमाबुवा समक्ष पुर्याउन लग्दा पुरै गाउँ नै पञ्चे बाजागाजासहित स्वागतमा ओर्लेका तपाई सबैलाई सर्वविदित नै छ । आश मरिसकेको छोरा फर्किदा अर्को दिनपनि दिनभरी विभिन्न कार्यक्रम, नाचगान, टिकाटालो र खुशीयालीमा बोका समेत काटियो ।

तीन दिनको बसाईमा पहाड र त्यहाँको रहनसहनलाई नजिकबाट बुझ्ने मौका पाएँ । पहाड प्रति रहेका धेरै भ्रमहरू हट्यो । कमबेसी राज्यद्वारा पहाडमा पनि विभेद भएको देखें । यसबारे विस्तारमा पछि फेरी चर्चा गरौंला, आज नितान्त फरक विषय छ ।

विषय मानवताको हो, विषय पहाड–मधेश बिचको आत्मियताको हो, विषय दुई फरक संस्कृति बिचको अन्तरसम्बन्धको हो । प्रेमको घरमा तीन दिनको बसाईपछि मधेश फर्किन विदावारी लिएँ । प्रेमको आमाले पहाडको सौगात भन्दै मेरो ब्यागमा केही सामानहरू राखिन् । नाउले वासी टिकोटालो र आशिस दिंदै विदावारी गरें । मलाई दलैख बजारसम्म प्रेमको काका तेज बहादुर विक पुर्याउन संगै हिडे । डेढ घण्टाको गोरेटे बाटो हिंडेर शान्तिबजार पुग्नु थियो, त्यहाँबाट टेम्पुले डुल्लु बजार र डुल्लुबजार बाट फेरी अर्को टेम्पुले दैलेख बजार जानु थियो ।

हामीसँग प्रेमको आमाबुवा पनि सँगै लागे । सुरूमा मलाई लाग्यो उहाँहरू गाउँको बाहिरसम्म पुर्याएर घर फर्किन्छन् । पाहुनालाई गाउँको बाहिरी सिमासम्म छोड्ने चलन हाम्रो मधेशमा पनि छ । तर, प्रेमको आमाबुवा गाउँको सिमा पार भए पनि फर्केन । म बारम्बार घर फिर्ता पठाउन प्रयास गरे तर उहाँहरू मान्नु भएन ।

त्यो दिन चर्को घाम थियो । प्रेमको आमा एउटा काक्रो र बुवा पानीको बोतल बोकेका थिए । पहाडको अति जोखीम बाटो, छिनछिनमा उरालो र उकालो बाटो, दश मिनेट मात्र हिँडेर म थाक्थे । एकछिनको विश्राम पछि फेरी अगाडि बढ्थे । विश्राम लिएको बेला प्रेमको बुवा पानी खान दिन्थे र आमा काक्रो । म त अगाडि टेम्पो चढेर जान्थे तर प्रेमको आमाबुवालाई फेरी त्यतिकै समय लगाएर घर फर्किनु पर्नेथियो । यहि सोचेर, बारम्बार उहाँहरूलाई घर फर्किन आग्रह गरे, मान्नु भएन, थोरै रिसाएर पनि भने फेरि पनि मान्नु भएन ।

आधी काँक्रो लिएर आमा पछि–पछि आई राखिन् । मप्रतिको यो स्नेह देखेर म अति नै भावुक भएँ । त्यो क्षण मोबाइलमा कैद गरें, त्यति बेलासम्म मेरो आत्माबाट आँशु निस्केर आँखासम्म आई पुगेको थियो । आँशु आँखाबाट बाहिर आउन अगाडि छेउमा रहेको झर्नामा गएर पानीले मुख धोएँ । कसैले मेरो आंशु देख्न पाएन तर आमाको त्यो माया म कसरी विर्सुं ?

डेढ घण्टाको हिडाई पछि हामी शान्तिबजार आई पुग्यौं । तर त्यो दिन टेम्पु हिंडेको थिएन, कारण दुई दिन अगाडीको वर्षातले बाटो पुरै खराब थियो । उहाँहरू एकजना खडकाज्युसँग कुरा गर्नु भयो र उहाँले आफ्नो मोटरबाइक दिनु भयो ।
शान्तिबजारबाट सबै सित विदावारी लिएर म र प्रेमको काका दैलेख बजारतिर लागें । दैलेख बजारसम्म बाटो खराब मात्र होइन अति नै जोखिमपूर्ण थियो । कुनै विरामी, गर्भवति वा अति जरूरी कामले बाहिर जानु परेमा के गर्छ होला सोच्न बाध्य भए ।

जसोतसो दलैख र त्यहाँबाट बसले सुर्खेत हुँदै जनकपुर आफ्नो घर फर्कें । मेरी आमाले ब्याग खोलिन्, जसमा प्रेमको आमाले थोरै थोरै गरेर टिमुर, चामल, तील, दाल र एक किलो घ्यु राखेको पाईयो । यो मेरो जिवनकै सबैभन्दा अमुल्य सौगात हो । जब मैले नाउले गाउँमा तीन दिनको बसाईबारे विस्तारले आफ्नो पुरै परिवारलाई सुनाएं, सबैको आँखा रसायो ।

Author:



क्याटोगरी छान्‍नुहोस