आइतबारदेखि सुरु हुदैँ विश्व खाद्य दिवस सप्ताह

काठमाडौँ, २४ असोज । ‘हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार’ को मुलनाराका साथ यसपाली ४० औं विश्व खाद्य दिवस साताव्यापी रुपमा मनाउने भएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको कृषि विभाग र समाजिक संस्था कृषिको लागि खाद्य अभियानको सहकार्यमा आइतबारदेखि नेपालमा पनि विश्व खाद्य दिवस साताव्यापी मनाउने भएको हो । कृषि विभाग र अभियानले शनिवार गरेको संयुक्त पत्रकार सम्मेलनमा खाद्य दिवस मनाउने बारेमा जानकारी गराएको छ ।

सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन कृषि सञ्चार र खाद्यका सवालको सेरोफेरोमा रहेर कृषिमा नयाँ संचार प्रविधिको प्रयोग, कृषिमा आमसञ्चार माध्यमको भूमिका, रैथाने खाना, पर्यटन र पत्रकारिता लगायत खाद्य र खेतीका तत्कालिन सवालहरुमा प्रस्तुति र अन्तक्रिया हुने छन् ।

दोश्रो दिन कोभिड १९, खाना र खेतीपाती विषयमा प्रस्तुति र अन्र्तक्रियाया सञ्चालन गरिनेछ भने तेश्रो दिन भूमी किसानको खाद्य अधिकार, शिक्षा र कृषि, चौथो दिन कर्णाली कृषिका मुद्धा बारे छलफल गरिनेछ । त्यसैगरि पाचौँ दिन खाना र खेतीपातीः ग्रामिण महिला किसानको योगदान र जैविक विविधता, पोषण तथा रैथाने बालीहरुको विषयमा छलफल र अन्तक्रिया सञ्चालन गरिने आयोजक संस्थाले जनाएको छ ।

यसैबीच देशभरिबाट पाँच उत्कृष्ट किसानहरुलाई अवार्ड पनि प्रदान गरिने, कृषि विभागका सूचना अधिकारी महादेव पौडेलले जानकारी दिएका छन् । कार्यक्रमको सफलताकोलागि सातै प्रदेशमा प्रचार प्रसार गरिएको पनि उनले बताए । अक्टोबर १६ मा रोजगार गुमाएका एवम् विपन्न परिवारहरुलाई खाना खुवाउने कार्यक्रम रहेको पनि उनले जानकारी दिए । पत्रकार सम्मेलनमा आफ्नो मन्तव्य राख्दै विभागका महानिर्देशक गोविन्द प्रसाद शर्माले आगामी दिनहरुमा यस किसिमको कार्यक्रमलाई देशव्यापी रुपमा सञ्चालन गरिनुपर्ने धारण व्यक्त गरे ।

सन् २०१५ मा भएको संयुक्त राष्ट्र संघको दिगो विकास सम्मेलनमा १९३ राष्ट्रले आगामी १५ वर्षभित्र भोकमरी अन्त्य गर्न शुन्य भोक अभियान चलाउने प्रतिबद्धता व्यक्त गरिएको थियो । त्यसको दुई महिनापछि फ्रान्सको राजधानी पेरिसमा भेला भएका १९५ देशका उच्चस्तरीय प्रतिनिधिहरूले खाद्य सुरक्षा विश्वको मुख्य प्राथमिकता रहेको कुरा स्वीकार गरेको थियो । यसको मूल कारण जलवायु परिवर्तन भएकोले सन् २०३० सम्ममा यसलाई सम्बोधन गर्दै शून्य भोक बनाउन प्रतिबद्धता जनाएको थियो । त्यही पृष्ठभूमिमा यसपाली हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार भन्ने नारा सहित मनाउन लागिएको यस वर्षको ४० औँ विश्व खाद्य दिवस सान्दर्भिक र महत्वपूर्ण रहेको अभियानका अभियन्ता कल्पना कार्कीले बताईन् । अहिले जनसाधारण स्वास्थ्य, खानेकुरा, आम्दानी र जीवनयापनका आधारभूत पक्षमा महामारी कोभिड–१९ ल्याएको समस्याहरूसँग जुधिरहेको भन्दै यस किसिमको परिस्थितिको सामना गर्ने आधार तयार पार्नुपर्ने तत्काल र दीर्घकालीन आवश्यकता बताईन् ।

कार्यक्रमले स्वस्थ्य र पोषणयुक्त खानेकुरा खान पाउने नैसर्गिक अधिकारका लागि खाद्य, कृषि, भूमि लगायत जीवनयापनका प्राथमिक आधार तथा अन्य प्राकृतिक स्रोतमाथि किसान समुदाय, खासगरी महिला, दलित, आदिवासी जनजाति र विपन्न समूहहरूको न्यायिक हक स्थापित गर्ने उनले विश्वास व्यक्त गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस