कोरोना संक्रमणको जोखिम वीच आएका चाडपर्व

कोजाग्रत पूर्णिमा संगै २०७७ सालको बडादशैं सकिएको छ । अब अर्को ठूलो पर्व दीपावली तथा छठ क्रमश: आगमनको क्रममा छन् । नेवार समूदायले बढी भव्यताका साथ मनाउने नेपाल सम्बत् पनि दीपावली संगै आगमनको क्रममा छ । करीब आठ महिनादेखि कोरोनाको संक्रमण फैलिन थालेपछि नेपालमा यस वर्षको दशैंमा विगतको जस्तो निर्धक्कताका साथ मनाउने अवसर जुरेन ।

संक्रमण बढ्दै गएका कारण बढी भिडभाड गर्दा झनै जोखिम बढ्ने तथा स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गर्नु पर्दा दशैंमा विगतका वर्ष जस्तो उल्लास नदेखिएको हो । निर्धक्कताका साथ चाडपर्व मनाउनु भन्दा पहिले स्वास्थ्यको ख्याल गर्न जरुरी भएका कारणले पनि त्यसको सिधा प्रभाव दशैंमा परेको हो ।

सरकारले पनि आफू रहेकै स्थानमा बसेर यसपालिको दशैं मनाउनकालागि आग्रह गरेको तथा स्थानीय प्रशासनले मठमन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरी नित्य पूजा मात्र गराउन आदेश जारी गरेका कारणले सोचे जस्तो चहलपहल हुन सकेन । दशैं सकिएपनि सन्निकट रहेको दीपावली तथा छठमा पनि संक्रमणबाट जोगिनकालागि पालना गर्नु पर्ने स्वास्थ्य सम्बन्धि मापदण्डलाई नजरअन्दाज गर्न मिल्दैन ।

दशैं जस्तै तिहार र छठमा पनि बढी भिडभाड हुँदै आएको छ । पहिलेका तिहार तथा छठको जस्तै यसपालि जमघट गर्ने अवस्था छैन । सामाजिक दूरी कायम गर्दै भिडभाडबाट जोगिन सकिएन भने संक्रमणको खतरा उत्तिकै रहने भएका कारणले पनि बढी चहलपहल गर्नु उपयुक्त नहुने निश्चित छ ।
यसपालिका ठूला चाडपर्व अप्ठ्यारो परिवेशका वीच आएका छन् । कोरोनाको संक्रमण बढ्दो छ । संक्रमित मध्ये नौ सय भन्दा बढीकोे दुखद् निधन समेत भईसकेको छ ।

समग्रमा अहिलेको परिस्थिति असहज बनेको छ । हाम्रा चाडपर्व सांस्कृतिक धरोहरका रुपमा समेत परिचित रहेका छन् । यिनले दिने सन्देशलाई अनुशरण गर्न सकियो भने मात्र पनि त्यो हाम्रालागि कल्याणकारी आधार बन्ने छ । पर्व मनाउँदा परिस्थितिको पनि ख्याल गर्नु पर्ने अवस्था अहिले आएको छ ।

असहजतालाई सहजतामा रुपान्तरणकालागि पहिले समयसापेक्ष रुपमा पर्व मनाउन तयार रहनु जरुरी छ । कोरोना संक्रमणका समयमै यस वर्ष चैती छठ मनाईयो । जलाशयमा जानुभन्दा पनि घरमै जलाशय बनाएर कतिले त्यहीँ चैती छठ गरे ।

यस्तो उदाहरणले अहिले संक्रमणको जोखिम बढ्दो समयमा भिडभाडमा गएर भन्दा जोगिएर चाडपर्व मनाउनु उत्तम हो भन्ने नै संकेत गरेको छ । स्वास्थ्यलाई प्राथमिकतामा राख्दै यस्ता चाडपर्व मनाउने गरियो भने मात्र संक्रमित हुनबाट आफू जोगिन अनि अरुलाई पनि जोगाउन सघाउ पुग्नेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस