पीडा किसानको

यो बर्ष मात्र नभई खेतीको सिजनमा प्रत्येक बर्ष किसानलाई कहिले बीउ, त कहिले मल खाद्यको अभाव । बीउ र मल खाद्यकै अभावका कारण भौतारिनु पर्छ किसानलाई । कहिले मलको लागि त कहिले बीउबिजनका लागि प्रदर्शनदेखि लिएर आन्दोलन समेतमा उत्रिनु पर्दछ किसानलाई ।

भनिन्छ, नेपाल कृषि प्रधान देश हो । यहाँका झण्डै ८० प्रतिशत नागरिक कृषि पेशामा निर्भर रहेको पाईन्छ । नेपाल कृषि प्रधान देश भएता पनि जब–जब किसानलाई खेती गर्न बीउ, मल, खाद्य चाहिन्छ, त्यतिबेला सँधै अभाव नै अभाव हुन्छ ।

यो यहाँका किसानहरुले भोग्दै आएका कुनै नयाँ समस्या होइन । कृषि प्रधान देशमा बेलैमा किसानले खाद्य, बीउ नपाउँदा जुनसुकै बाली उत्पादनमा समस्या हुन्छ । मल खाद्य बिना न त धान उत्पादन हुन सक्छ, न त गहुँ नै । अभावले किसानहरू छट्पटी रहेका हुन्छन्, रोइरहेका हुन्छन् । छट्पटीएको पिडा, रोइरहेको किसानको आँशु कसले देखला त?

अरुको लागि सानो होला यो पीडा तर रोइरहेको किसानको लागि ठूलो पीडा हुन्छ । शहरीभन्दा ग्रामीण भेगका नागरिकहरु बढी कृषिमा आश्रीत छन् । कतिपय किसानको बेमौसमी बर्षाका कारण यस बर्ष पनि धानबाली नष्ट भएको किसानको दुःख, पिडा,आँशु कसले बुझिदेला त ?

एक कठ्ठा खेतमा कृषि उपज लगाउनका लागि खेत नै तयार गर्न किसानहरूलाई पाँच सयदेखि सात सयसम्म खर्च तिर्नुपर्ने हुन्छन तर तेत्रो खर्च गरेर कहिले बीउ त कहिले मल खाद्य नपाएर किसानहरूलाई जोतेको खेतलाई बाँझो राख्नुपर्ने बाध्यता छ । मल खाद्यको समस्या एकातिर छ भने बेमौसमी बर्षा र सिचाइको पनि उतिकै समस्या छ ।

सिचाइको व्यवस्था नभएकोले आकाशे पानीको भरमा खेती गर्ने गरेका छन् यहाँका किसान । कतिपय किसानहरूले खेतबारीमा ट्युबवेल पम्पमा हजारौं मिटरको दुरीबाट तार जोड्दै बिद्युत प्रवाह गरी मोटरबाट पानी तान्दै बाली लगाउने गर्दछ । बिद्युतको खपत पनि उतिकै हुने गरेकोले मल खाद्य बिना उत्पादनमा कमी हुँदा घटा नै व्यहोर्नुपरेको पनि किसानका गुणसो रहेको छ ।

बीउ भएजति गहुँ खेती गरेको किसानलाई डीएपी र युरिया मल नपाउदा गहुँ बालीलाई हुर्काउन देशैभरका किसानहरुलाई समस्या भइरहेका गुणासो सुन्न र देख्न सकिन्छ । किसानको पसिना, श्रम र मेहनत सबै खेतीमा लागेको हुन्छन् तर श्रम र पसिना चुहाएर पनि लगाए जतिको बाली मल खाद्य बिना उत्पादनमा वृद्वि नहुँदा झनै पिडा थपिन्छ किसानको ।

८० प्रतिशत नागरिक कृषिमा आधारित भएकोले कृषि क्षेत्रको बिकास हुनु अत्यन्तै जरुरी रहेको हामी बुझ्न सक्छौं । जबसम्म कृषि क्षेत्रको बिकास हुँदैन, तबसम्म यहाँका नागरिकको जीवनस्तर उठ्न सक्दैन भन्ने कुरा नकार्न सकिदैन् । त्यसैले जुन रुपले कृषिको बिकास हुनुपर्ने हो, त्यो रुपले नभएकोमा कृषिको बिकासमा राज्यको ध्यानाकर्षण होस् ।

(लेखक यस मधेशलाइभ डटकमका सह सम्पादक हुन् ।)

Author:



क्याटोगरी छान्‍नुहोस